28
कसैले नखेदे तापनि दुष्‍ट मान्छे भाग्छ; तर धर्मी जनहरू सिंहझैं निडर हुन्छन्।
2 देशमा अपराध भएकोले त्यसका शासकहरू धेरै हुन्छन्; तर समझ र ज्ञान भएको मानिसद्वारा त्यसको ठहर लम्मिनेछ।
3 गरिबले अरू गरिबहरूलाई थिचोमिचो गर्नुचाहिँ बढ़ारेर लैजाने वर्षाजस्तो हो, जसले केही खानेकुरा छोड़्दैन।
4 जस-जसले व्यवस्था त्याग्छन्, तिनीहरूले दुष्‍टको प्रशंसा गर्छन्; तर व्यवस्था पालन गर्नेहरूचाहिँ तिनीहरूसँग लड़्छन्।
5 खराब मानिसहरूले न्याय बुझ्दैनन्, तर परमप्रभुको खोज गर्नेहरूले सबै कुरा बुझ्छन्।
6 टेढ़ामेढ़ा चाल चल्ने धनवान् मानिसभन्दा आफ्नो इमानदारीपनमा हिँड़्‍ने गरिब मानिस उत्तम हो।
7 जसले व्यवस्था पालन गर्छ, ऊ समझदार छोरा हो; तर जसले उत्पाती मानिसहरूको सङ्गत गर्छ, त्यसले आफ्ना बुबालाई शर्ममा पार्छ।
8 जसले ब्याज लिएर र अन्यायको कमाइले सम्पत्ति बढ़ाउँछ, त्यसले गरिबहरूमाथि दया देखाउनेको लागि नै त्यो जम्मा गर्नेछ।
9 जसले व्यवस्था सुन्‍नदेखि आफ्नो कान फर्काउँछ, त्यसको प्रार्थना पनि घृणित बन्‍नेछ।
10 जसले धर्मी जनहरूलाई कुबाटोतिर भड़्काएर लैजान्छ, त्यो आफै आफ्नो खाड़लभित्र खस्‍नेछ; तर सीधा चाल चल्नेहरूले असल थोकहरू प्राप्‍त गर्नेछन्।
11 धनवान् मानिस आफ्नो दृष्‍टिमा बुद्धिमान् हुन्छ; तर समझदार गरिबले त्यसलाई जाँचेर हेर्दछ।
12 जब धर्मी जनहरू रमाउँछन्, तब त्यहाँ ठूलो महिमा हुन्छ; तर जब दुष्‍टहरू उठ्छन्, तब मानिसहरू लुक्छन्।
13 जसले आफ्ना पापहरू ढाक्छ, त्यो सफल हुँदैन; तर जसले तिनलाई मानिलिन्छ र छोड़िदिन्छ, उसले कृपा पाउनेछ।
14 धन्य हो त्यो मानिस, जसले सधैंभरि परमेश्‍वरको भय मान्छ; तर जसले आफ्नो हृदय कठोर पार्छ, त्यो खराबीमा पर्नेछ।
15 गरिब मानिसहरूमाथि शासन गर्ने दुष्‍ट शासक गर्जने सिंह र जाइलाग्‍ने भालुजस्तो हो।
16 समझहीन शासक बड़ो अत्याचारी पनि हो; तर जसले लोभलाई घृणा गर्छ, उसले आफ्नो आयु बढ़ाउनेछ।
17 कसैको हत्या गरेकोले मानिस भागेर खाड़लमा पर्नेछ; कसैले पनि त्यसलाई नरोकोस्।
18 जो सीधा चाल चल्छ, ऊ बचाइनेछ; तर जसका चालहरू टेढ़ा छन्, त्यो एक्‍कासि लड़्‍नेछ।
19 जसले आफ्नो जमिन खनजोत गर्छ, ऊसँग प्रशस्त भोजन हुनेछ; तर जो निकम्मा मानिसहरूको पछि लाग्छ, त्यो साह्रै गरिब हुनेछ।
20 विश्‍वासयोग्य मानिस आशिष्‌हरूले भरपूर हुनेछ; तर जो धनी हुनु हतार गर्छ, त्यो निर्दोष ठहरिनेछैन।
21 पक्षपात गर्नु असल होइन; किनकि रोटीको एक टुक्राको लागि मानिसले अपराध गर्नेछ।
22 जसले धनी हुनु हतार गर्छ, त्यसको आँखा खराब हुन्छ; अनि त्यसमाथि गरिबी आउनेछ भन्‍ने कुरा त्यसले ख्याल गर्दैन।
23 जसले मानिसलाई हप्काउँछ, त्यही मानिसले अन्त्यमा जिब्रोले चिप्लो घस्‍नेले भन्दा बढ़ी कृपा पाउनेछ।
24 जसले आफ्ना बुबालाई वा आफ्नी आमालाई लुट्छ, र ‘यो त अपराध होइन’ भन्छ, त्योचाहिँ नाश गर्नेको साथी हो।
25 जसको हृदय घमण्डी छ, त्यसले झगड़ा मच्‍चाउँछ; तर जसले परमप्रभुमाथि भरोसा राख्छ, ऊ हृष्‍टपुष्‍ट हुनेछ।
26 जसले आफ्नै हृदयमाथि भरोसा राख्छ, त्यो मूर्ख हो; तर जो बुद्धिमानीसाथ हिँड़्छ, उसले छुटकारा पाउनेछ।
27 जसले गरिबलाई दिन्छ, उसलाई घटीकमी हुनेछैन; तर जसले आफ्ना आँखाहरू तर्काउँछ, त्यसले धेरै श्राप पाउनेछ।
28 जब दुष्‍टहरू उठ्छन्, तब मानिसहरू लुक्छन्; तर जब तिनीहरू नष्‍ट हुन्छन्, तब धर्मी जनहरू बढ़्छन्।