27
भोलिको विषयमा घमण्ड नगर; किनकि भोलिले के ल्याउँछ, सो तिमी जान्दैनौ।
2 तिम्रो प्रशंसा अर्काले गरोस्, आफ्नै मुखले चाहिँ होइन; पराईले गरोस्, आफ्नै ओठहरूले होइन।
3 ढुङ्गा गह्रौं हुन्छ, र बालुवा भारी हुन्छ; तर मूर्खको क्रोधचाहिँ ती दुवैभन्दा झन्‌ गह्रौं हुन्छ।
4 क्रोध निर्दयी हुन्छ, र रिस मिचेर आउने हुन्छ; तर डाहाको सामु को खड़ा रहन सक्छ र?
5 गुप्‍त प्रेमभन्दा खुला हप्की उत्तम हुन्छ।
6 साथीबाटका चोटहरू विश्‍वासयोग्य हुन्छन्; तर शत्रुका चुम्बनहरू कपटपूर्ण हुन्छन्।
7 अघाएको मानिसले महको चाकालाई पनि कुल्चन्छ, तर भोको मानिसका निम्ति हरेक तीतो चीज पनि मीठो हुन्छ।
8 आफ्नो गुँड़ छोड़ेर भड़्किहिँड़्‍ने चराजस्तै हो त्यो मान्छे, जो आफ्नो ठाउँ छोड़ी भड़्किहिँड़्छ।
9 तेल र अत्तरले मान्छेको हृदय आनन्दित तुल्याउँछन्; त्यसरी नै आफ्नो साथी पनि हृदयबाटको सल्‍लाहको कारणले मीठो लाग्छ।
10 आफ्नो साथीलाई र आफ्ना बुबाको साथीलाई नत्याग, न ता आफ्नो विपत्तिको दिनमा आफ्ना दाजुभाइको घरमा जाऊ; किनकि टाढ़ाको दाजुभाइभन्दा नजिकको छिमेकी उत्तम हो।
11 हे मेरा छोरा, बुद्धिमान् होऊ, र मेरो हृदय आनन्दित पारिदेऊ; र म मलाई निन्दा गर्नेलाई जवाफ दिन सकूँ।
12 समझदार मानिसले आइलागेको खराबी अघिबाटै देख्छ, र लुक्छ; तर बोधा मानिसहरू अघि बढ़्छन्, र दण्ड भोग्छन्।
13 परदेशीका निम्ति जमानी बस्‍नेबाट त्यसको वस्त्र लिइराख; परस्त्रीका निम्ति जमानी बस्‍नेबाट धरौटी लिइराख!
14 जसले एकाबिहानै उठेर चर्को सोरले आफ्नो साथीलाई आशीर्वाद दिन्छ, यो त्यसका निम्ति श्राप गनिनेछ।
15 झरीवर्षाको दिनमा पानीको कहिल्यै नथामिने तपतप र झगड़ालु स्त्री एकै हुन्।
16 जसले त्यसलाई लुकाउँछ, त्यसले हावा लुकाउँछ, र त्यसको दाहिने हातको तेल आफैआफ प्रकट हुन्छ।
17 फलामले फलामलाई धारिलो पार्छ, त्यसरी नै मानिसले आफ्नो साथीको चेहरालाई धारिलो पार्छ।
18 जसले नेभाराको रूखलाई स्याहार गर्छ, उसले त्यसको फल खान्छ; त्यसरी नै जसले आफ्ना मालिकको सेवा गर्छ, उसले आदर पाउनेछ।
19 जसरी पानीमा चेहराले चेहरालाई प्रतिबिम्बित पार्छ, त्यसरी नै मानिसको हृदयले मानिसलाई प्रतिबिम्बित पार्छ।
20 अधोलोक र विनाश कहिल्यै भरिँदैनन्; त्यसरी नै मानिसका आँखाहरू पनि कहिल्यै तृप्‍त हुँदैनन्।
21 जसरी चाँदीका लागि खार्ने भाँड़ा र सुनका लागि भट्टी, त्यसरी नै मानिस उसको प्रशंसा गर्ने मुखद्वारा जाँचिन्छ।
22 तिमीले मूर्खलाई ओखलीमा मुस्लीले अन्‍नको साथमा पिँध्यौ भने पनि त्यसको मूर्खता त्यसबाट हट्नेछैन।
23 आफ्ना भेड़ाबाख्राहरूको अवस्था बुझ्नलाई यत्‍न गर र आफ्ना बगालहरूमाथि आफ्नो मन लगाऊ;
24 किनकि धनसम्पत्ति सधैंभरि रहँदैन; अनि के मुकुट पुस्तापुस्तासम्म रहिरहन्छ र?
25 सुकेको घाँस हटाइन्छ, तब कोमल घाँस देखा पर्छ, र पहाड़हरूका घासपातहरू बटुलिन्छन्।
26 भेड़ाका पाठाहरू तिम्रो वस्त्रका निम्ति हुन्; अनि बोकाहरूचाहिँ जग्गाजमिनको दाम हुन्छन्।
27 अनि आफ्नो भोजन र आफ्नो घरानाको भोजनका लागि, अनि तिम्रा दासीहरूको पालन-पोषणका लागि बाख्रीहरूको दूध पर्याप्‍त हुनेछ।