24
खराब मानिसहरूप्रति डाहा नगर, न ता तिनीहरूसँग हुने इच्छा नै गर!
2 किनकि तिनीहरूको हृदयले विनाशको विषयमा सोच्छ, र तिनीहरूका ओठहरूले उपद्रवको कुरा गर्छन्।
3 बुद्धिद्वारा घर बनाइन्छ; अनि समझद्वारा यो स्थिर हुन्छ;
4 अनि ज्ञानद्वारा कोठाहरू सबै प्रकारका मूल्यवान् र मनोहर धनले भरिन्छन्।
5 बुद्धिमान् मानिस बलवान् हुन्छ; ज्ञानवान् मानिसले शक्तिमाथि शक्ति बढ़ाउँछ।
6 किनकि तिमीले बुद्धिपूर्ण सल्‍लाहद्वारा आफ्नो युद्ध गर्नेछौ; अनि जहाँ धेरै सल्‍लाहकारहरू हुन्छन्, त्यहाँ सुरक्षा हुन्छ।
7 मूर्खका निम्ति बुद्धि भेट्नै नसक्ने गरी उच्‍च हुन्छ; त्यसले मूलढोकामा आफ्नो मुख खोल्दैन।
8 जसले खराब काम गर्ने युक्ति रच्छ, त्यो बदमास भनिनेछ।
9 मूर्खताको विचार पाप हो; अनि गिल्‍ला गर्ने मान्छे मानिसहरूका निम्ति घृणित हुन्छ।
10 विपत्तिको दिनमा मुर्च्छित भयौ भने तिम्रो बल कम्ती हो।
11 मृत्युतिर लगिएकाहरूलाई बचाऊ, र मार्नका निम्ति लगिएकाहरूलाई रोक!
12 अनि ‘हेर्नुहोस्, यो कुरा हामीले थाहै पाएनौं’ भनी भन्यौ भने जसले हृदयलाई तौलनुहुन्छ, के उहाँले यसको ख्याल गर्नुहुन्‍न र? अनि जसले तिम्रो प्राणको रक्षा गर्नुहुन्छ, के उहाँलाई यो कुरा थाहा छैन र? अनि के उहाँले हरेक मानिसलाई उसको कामअनुसार प्रतिफल दिनुहुन्‍न र?
13 हे मेरा छोरा, मह खाऊ; किनभने यो असल हो; अनि महको चाका खाऊ, जो तिमीलाई मीठो लाग्छ;
14 बुद्धिको ज्ञान पनि तिम्रो मनका निम्ति यस्तै हुन्छ; जब तिमीले यसलाई पाउँछौ, तब यसैमा तिम्रो इनाम हुनेछ, अनि तिम्रो आशा टुट्नेछैन।
15 हे दुष्‍ट मान्छे, धर्मी जनको वासस्थानको विरोधमा ढुकेर नबस्; उसको विश्रामस्थानलाई नलुट्;
16 किनभने धर्मी जन सातपल्‍ट लड्‍छ, तर फेरि उठ्छ; तर दुष्‍टहरूचाहिँ विपत्तिभित्र जाकिनेछन्
17 जब तिम्रो शत्रु लड्‍छ, तब आनन्दित नहोऊ; अनि जब त्यसले ठेस खान्छ, तब तिम्रो हृदय नरमाओस्;
18 नत्र परमप्रभुले यो देख्‍नुहुन्छ, र उहाँलाई नराम्रो लाग्‍नेछ; अनि उहाँले आफ्नो क्रोध त्यसबाट हटाउनुहुनेछ।
19 खराब मानिसहरूले गर्दा मनलाई अमिलो नपार, न ता दुष्‍टहरूलाई डाहा गर;
20 किनकि खराब मान्छेका निम्ति इनाम हुँदैन; दुष्‍टहरूको बत्ती निभ्नेछ।
21 हे मेरा छोरा, परमप्रभु र राजाको भय मान; अनि हेरफेर हुने मानिसहरूसँग सङ्गत नगर;
22 किनकि एक्‍कासि तिनीहरूमाथि विपत्ति आइपर्नेछ; अनि ती दुवैको विनाश कसले जान्दछ?
23 यी पनि बुद्धिमान्‌हरूका कुराहरू हुन्: न्यायमा पक्षपात गर्नु ठीक होइन।
24 जसले दुष्‍टलाई ‘तिमी धर्मी हौ’ भन्छ, त्यसलाई मानिसहरूले सराप्‍नेछन्, जाति-जातिका मानिसहरूले त्यसलाई घृणा गर्नेछन्;
25 तर जसले त्यसलाई हप्काउँछन्, उनीहरूका निम्ति आनन्द हुनेछ र उनीहरूमाथि उत्तम आशिष्‌ आउनेछ।
26 जसले सठीक जवाफ दिन्छ, उसका ओठहरू चुम्बन गरिन्छ।
27 बाहिर आफ्नो काम ठीकठाक गर, र खेतबारीमा त्यो काम आफ्नै लागि तयार पार; अनि त्यसपछि आफ्नो घर बनाऊ!
28 विनाकारण नै आफ्नो छिमेकीको विरोधमा साक्षी नहोऊ, र आफ्ना ओठहरूले धोका नदेऊ!
29 ‘त्यसले मलाई जस्तो गरेको छ, म पनि त्यसलाई त्यस्तै गर्नेछु; म त्यस मान्छेलाई त्यसकै कामअनुसार बदला दिनेछु’ नभन!
30 म एउटा अल्छेको खेतबारीबाट र समझ नभएको मान्छेको दाखबारीबाट भएर गएँ;
31 अनि हेर, काँड़ाहरू बढ़ेर त्यो सबै ढाकिएको रहेछ, त्यसको भुइँ सिस्‍नुले ढाकेको रहेछ, र त्यसको ढुङ्गाको पर्खाल भत्केको रहेछ।
32 तब मैले देखें, र त्यसको विषयमा राम्ररी विचार गरें; मैले त्यसलाई हेरें, र शिक्षा पाएँ:
33 अझै अलिकति निद्रा, एकक्षणको झप्की, निदाउनलाई अलिकति हात बँधाइ;
34 तब तिम्रो गरिबी बाटोको लुटेराझैं र तिम्रो घटीकमी हातहतियार भिरेको मान्छेझैं आइलाग्‍नेछन्।