23
जब तिमी कुनै शासकसँग खान बस्छौ, तब तिम्रो अघिल्तिर के छ, सो यत्‍नसहित विचार गर!
2 अनि तिमी खूब खाने मन भएका मानिस हौ भने आफ्नो घिच्रोमा छुरी राख!
3 उनका मीठा-मीठा खानेकुराको लालसा नगर; किनकि ती धोकापूर्ण भोजन हुन्।
4 धनी हुन परिश्रम नगर; अनि आफ्नै बुद्धि लगाउन छोड़!
5 के तिमी आफ्ना आँखाहरू त्यसमाथि लगाउँछौ, जो केही पनि होइन? किनभने निश्‍चय धनले आफ्नो लागि पखेटाहरू बनाउँछ; त्यो चीलझैं आकाशतिर उड़ेर जान्छ।
6 जसको आँखा खराब छ, त्यस मानिसको भोजन नखाऊ, र त्यसका मीठा-मीठा खानेकुराको लालसा नगर;
7 किनकि आफ्नो मनमा त्यसले जस्तो सोच्छ, त्यो त्यस्तै हुन्छ; त्यसले तिमीलाई भन्छ: ‘खाऊ, र पिऊ’; तर त्यसको हृदय तिमीसँग छैन।
8 तिमीले जुन गाँस खाएका थियौ, त्यसलाई तिमीले उगेल्नुपर्छ; अनि तिम्रा मीठा वचनहरू खेर फाल्नेछौ।
9 मूर्खको कानमा नबोल; किनकि त्यसले तिम्रा वचनहरूको बुद्धिलाई तुच्छ ठान्‍नेछ।
10 उहिलेका सिमानाढुङ्गाहरू नसार, र टुहुराहरूका जग्गा-जमिनभित्र नपस;
11 किनकि उनीहरूका उद्धारक सामर्थी हुनुहुन्छ; उहाँले तिमीसित उनीहरूको मुद्दा लड़्नुहुनेछ।
12 आफ्नो हृदय शिक्षातिर, र आफ्ना कान ज्ञानका वचनहरूतिर लगाऊ!
13 बालकलाई अनुशासन गर्न नछोड़; किनकि तिमीले त्यसलाई छड़ी लगायौ भने त्यो मर्नेछैन।
14 त्यसलाई छड़ी लगाऊ, र तिमीले त्यसको प्राणलाई नरकबाट बचाउनेछौ।
15 हे मेरा छोरा, तिम्रो हृदय बुद्धिमान् भइदियो भने मेरो हृदय, अँ, मेरो हृदय नै रमाउनेछ।
16 अँ, जब तिम्रा ओठहरूले ठीक कुराहरू बोल्छन्, तब मेरो अन्तरात्मा खुशीले नाच्छ।
17 तिम्रो हृदयले पापीहरूलाई डाहा नगरोस्; तर दिनभरि नै परमप्रभुको भयमा बस!
18 किनकि निश्‍चय यसैमा इनाम हुन्छ, र तिम्रो आशा टुट्नेछैन।
19 हे मेरा छोरा, सुन, र बुद्धिमान् होऊ, अनि आफ्नो हृदय यही मार्गमा हिँड़ाऊ!
20 पियक्‍कड़हरूको बीचमा र मासु घिचुवाहरूको बीचमा नहोऊ!
21 किनकि पियक्‍कड़ र घिचुवा कङ्गाल हुनेछन्; अनि सुतुवापनले मान्छेलाई थाङ्ना ओढ़ाउनेछ।
22 तिमीलाई जन्माउने बुबाको कुरा सुन, र तिम्री आमा वृद्धा हुँदा उनलाई तुच्छ नठान!
23 सत्यता किन, र त्यसलाई नबेच; बुद्धि, शिक्षा र समझ पनि किन!
24 धर्मी जनका बुबा खूबै रमाउनेछन्; अनि बुद्धिमान् छोरालाई जन्माउने मानिस त्यसको कारणले आनन्दित हुनेछन्।
25 तिम्रा बुबा र तिम्री आमा आनन्दित हुनेछन्, अनि जसले तिमीलाई जन्माइन्, तिनी रमाउनेछिन्।
26 हे मेरा छोरा, मलाई तिम्रो हृदय देऊ; अनि तिम्रा आँखाहरूले मेरा चालहरू हेरून्;
27 किनकि वेश्या एउटा गहिरो भड़्खालो हो, र पराई स्त्रीचाहिँ साँघुरो खाँद हो।
28 निश्‍चय त्यो शिकारको लागि ढुकेझैं ढुकेर बस्छे, र मानिसहरूको बीचमा अपराधीहरूको संख्या बढ़ाउँछे।
29 कसले हाय, हाय गर्छ? कसले शोक गर्छ? को झगड़ामा पर्छ? कसले मुख बजाउँछ? कसलाई विनाकारणै चोटहरू लागेका छन्? कसका आँखाहरू राता छन्?
30 तिनीहरूकै, जो अबेरसम्म दाखमद्य पिउँदै बस्छन्; तिनीहरूकै, जो मसाला मिलाइएको मदिरा खोज्‍न जान्छन्।
31 दाखमद्य, जब त्यो रातो हुन्छ, जब त्यो कचौरामा चमचमाउँछ, जब त्यो तररर झर्छ, तब त्यसलाई नहेर!
32 अन्त्यमा त्यसले सर्पले झैं ठुङ्छ, र साँभेसाँपले झैं डस्छ।
33 तिम्रा आँखाले पराई स्त्रीहरूलाई हेर्नेछन्, र तिम्रो हृदयले टेढ़ा कुराहरू बक्नेछ।
34 अँ, तिमी समुद्रको बीचमा लेट्ने मानिसझैं अथवा मस्तुलको टुप्पामा लेट्नेझैं हुनेछौ।
35 तिमीले भन्‍नेछौ: ‘तिनीहरूले मलाई हिर्काए, तर म बिरामी भइनँ; तिनीहरूले मलाई कुटे, तर त्यो मैले थाहै पाइनँ; म कहिले बिउँझूँ? म फेरि त्यसको खोज गर्नेछु।’