21
राजाको हृदय परमप्रभुको हातमा पानीका नदीहरूजस्तो छ; उहाँले जता चाहनुहुन्छ, त्यतै त्यसलाई फर्काउनुहुन्छ।2 मानिसको हरेक चाल आफ्नै दृष्टिमा ठीक हुन्छ, तर परमप्रभुले हृदयहरू जाँच्नुहुन्छ।
3 धार्मिकता र न्याय गर्नुचाहिँ परमप्रभुका लागि बलिदानभन्दा बढ़ी ग्रहणयोग्य कुरा हुन्।
4 चढ़ेको आँखा, घमण्डी हृदय र दुष्टहरूको जोताइ पाप हो।
5 परिश्रमीका विचारहरूले भरपूरीतिर मात्र लैजान्छन्; तर हरेक हड़बड़ेले घटीकमीतिर लैजान्छ।
6 झूट बोल्ने जिब्रोद्वारा कमाइएको सम्पत्तिचाहिँ मृत्यु खोज्नेहरूले यता र उता हुत्त्याएको व्यर्थता हो।
7 दुष्टहरूको अत्याचारले तिनीहरूलाई नष्ट पार्छ; किनकि तिनीहरू न्याययुक्त काम गर्न अस्वीकार गर्छन्।
8 दोषी मानिसको चाल टेढ़ा हुन्छ; तर शुद्ध मानिसको काम सीधा हुन्छ।
9 झगड़ालु स्वास्नीसँग ठूलो घरमा एकसाथ बस्नुभन्दा कौसीको एउटा कुनामा बस्नु उत्तम हो।
10 दुष्टको मनलेक खराबीको चाहना गर्छ; त्यसको छिमेकीले त्यसको दृष्टिमा कहिल्यै कृपा पाउँदैन।
11 गिल्ला गर्नेले जब दण्ड पाउँछ, तब बोधो मानिस बुद्धिमान् बनाइन्छ; अनि जब बुद्धिमान्ले शिक्षा पाउँछ, तब उसले ज्ञान प्राप्त गर्छ।
12 धर्मी जनले दुष्टको घरलाई बुद्धिमानीसँग विचार गर्छ; तर परमेश्वरले तिनीहरूको दुष्टताको खातिर दुष्टहरूलाई पल्टाइदिनुहुन्छख।
13 जसले गरिबको पुकार नसुन्नलाई कान बन्द गर्छ, त्यो आफैले पनि पुकार्नेछ, तर त्यसको सुनिनेछैन।
14 गुप्तमा दिइएको उपहारले रिसलाई शान्त गराउँछ; अनि छातीमा हालिदिइएको दानले भयङ्कर रिसलाई थामिदिन्छ।
15 न्यायप्रेमीलाई न्याययुक्त काम गर्नु आनन्द लाग्छ; तर कुकर्म गर्नेहरूमाथि विनाश आइपर्नेछ।
16 समझको बाटोबाट भड़्किने मानिस मरेकाहरूको सभामा रहनेछ।
17 जसले मोजमज्जालाई प्रेम गर्छ, त्यो गरिब हुनेछ; जसले दाखमद्य र तेललाई प्रेम गर्छ, त्यो धनी हुनेछैन।
18 दुष्टचाहिँ धर्मी जनका निम्ति, र अपराधीचाहिँग सीधा चाल चल्नेहरूको छुटकाराको दाम ठहर्नेछन्।
19 झगड़ालु र रिसाहा स्वास्नीसँग बस्नुभन्दा त उजाड़स्थानमा बस्नु उत्तम हो।
20 बुद्धिमान्को घरमा चाहना गर्न लायकको सम्पत्ति र तेल पाइन्छन्; तर मूर्ख मान्छेले त्यो उड़ाइदिन्छ।
21 जो धार्मिकता र करुणाको पछि लाग्छ, उसले जीवन, धार्मिकता र आदर पाउँछ।
22 बुद्धिमान् मानिस शक्तिमान्हरूको शहरमाथि चढ़्छ, अनि तिनीहरूको शक्ति, जसमाथि तिनीहरूले भरोसा राखेका हुन्छन्, ढालिदिन्छ।
23 जसकसैले आफ्नो मुख र आफ्नो जिब्रोको रखवाली गर्छ, उसले आफ्नो प्राणलाई सङ्कष्टहरूबाट बचाउँछ।
24 जसले घमण्डपूर्ण रिसमा काम गर्छ, त्यसको नाम ‘घमण्डी, हठी, गिल्ला गर्ने’ हुन्छ।
25 अल्छेको लालसाले त्यसलाई मार्छ; किनकि त्यसका हातहरूले काम गर्न मान्दैनन्।
26 त्यसले दिनभरि नै लोभ गरी-गरी चाहना गर्छ; तर धर्मी जनले चाहिँ दिन्छ र बाँकी राख्दैन।
27 दुष्टहरूको बलिदान घृणित कुरा हो; जब त्यसले दुष्ट मनले त्यो ल्याउला, तब त्यो झन् कति घृणित ठहर्ला?
28 झूटो साक्षी नाश हुनेछ; तर जुन मानिसले ध्यानसित सुन्छ, ऊ सदैव बोलिरहन्छ।
29 दुष्ट मान्छेले आफ्नो अनुहार कठोर पार्छ; तर सीधा चाल चल्नेले चाहिँ आफ्नो मार्गलाई सुव्यवस्थित तुल्याउँछ।
30 परमप्रभुको विरोधमा कुनै बुद्धि, कुनै समझ, कुनै सरसल्लाह काम लाग्दैन।
31 लड़ाइँको दिनका निम्ति घोड़ा तयार पारिएको छ; तर सुरक्षाघ परमप्रभुबाट आउँछ।