20
दाखमद्यले गिज्याउँछ, र मदिराले झगड़ा मच्चाउँछ; अनि हरेक जो यी कुराद्वारा ठगिएको हुन्छ, त्यो बुद्धिमान् होइन।2 राजाको डरचाहिँ सिंहको गर्जनजस्तै हो; जसले उनको रिस उठाउँछ, त्यसले आफ्नै प्राणको विरोधमा पाप गर्छ।
3 झगड़ाबाट हात उठाउनुचाहिँ मानिसका निम्ति आदरको कुरा हो; तर हरेक मूर्ख यसैमा फसिरहन्छ।
4 जाड़ोको कारणले अल्छे मान्छेले हलो जोत्दैन; यसैले कटनीको समयमा त्यसले भीख माग्छ, तर केही पाउँदैन।
5 सल्लाह मानिसको हृदयमा गहिरो पानीजस्तै हुन्छ; तर समझदार मानिसले त्यसलाई उघाएर निकाल्छ।
6 धेरैजस्ता मानिसहरूले आफ्नै भलोपनको प्रचार गर्छन्; तर विश्वासयोग्य मानिसलाई कसले भेट्टाउन सक्छ?
7 न्यायप्रेमी मानिस आफ्नो इमानदारीपनमा हिँड़्छ; उसको पछि उसका छोराछोरीहरू आशिषित हुन्छन्।
8 न्यायासनमा बस्ने राजाले आफ्ना आँखाहरूद्वारा सबै खराबी छरपुस्ट पारिदिन्छन्।
9 ‘मैले आफ्नो हृदय शुद्ध पारेको छु, म मेरो पापबाट शुद्ध भएको छु’ भनी कसले भन्न सक्छ?
10 थरी-थरीका ढक र थरी-थरीका माना, ती दुवै कुरा परमप्रभुका निम्ति घृणित हुन्।
11 बालकलाई पनि उसका कामहरूद्वारा – त्यसको काम शुद्ध र सठीक छ कि छैन भनी चिन्न सकिन्छ।
12 सुन्ने कान र देख्ने आँखा – अँ, ती दुवैलाई परमप्रभुले बनाउनुभएको हो।
13 निद्रालाई प्रेम नगर, नत्र तिमी गरिब हुनेछौ; आफ्ना आँखाहरू खोल, र तिमी रोटीले तृप्त हुनेछौ।
14 किन्नेले भन्छ: ‘राम्रो छैन! राम्रो छैन!’, तर त्यो आफ्नो बाटो लागेपछि त्यसले धाक पिट्छ।
15 सुन छ, अनि अनगन्ती लालमणिहरू पनि छन्; तर ज्ञानले भरिएका ओठहरूचाहिँ बहुमूल्य रत्न हुन्।
16 परदेशीका निम्ति जमानी बस्नेबाट त्यसको वस्त्र लिइराख; परस्त्रीका निम्ति जमानी बस्नेबाट धरौटी लिइराख!
17 छलको भोजनक मान्छेलाई मीठो लाग्छ, तर पछिबाट त्यसको मुख गिट्टीले भरिनेछ।
18 हरेक योजना सरसल्लाहद्वारा स्थापित हुन्छ; अनि असल सल्लाह पाएपछि युद्ध गर!
19 कुराबोकुवाझैं घुमिहिँड़्नेले गुप्त कुरा प्रकट गरिदिन्छ; यसकारण आफ्ना ओठले चिप्लो घस्नेसँग सङ्गत नगर!
20 जसले आफ्ना बुबा वा आफ्नी आमालाई सराप्छ, त्यसको बत्ती घोर अन्धकारमा निभ्नेछ।
21 शुरुमा हतारसँग पैतृक सम्पत्ति पाउन सकिन्छ; तर त्यसको अन्त आशिषित हुँदैन।
22 ‘म खराबीको बदला लिनेछु’ भनी नभन; तर परमप्रभुको बाटो हेर, र उहाँले तिमीलाई बचाउनुहुनेछ।
23 थरी-थरीका ढक परमप्रभुका निम्ति घृणित हुन्; अनि छलको तराजु राम्रो होइन।
24 मानिसका पाइलाहरू परमप्रभुबाट निश्चित हुन्छन्; तब मानिसले कसरी आफ्नो चाल बुझ्न सक्छ र?
25 हतारमा ‘यो पवित्र छ’ भन्नु, र भाकल गरिसकेपछि सोधपुछ गर्नु मानिसका निम्ति पासो हो।
26 बुद्धिमान् राजाले दुष्टहरूलाई छरपुस्ट पारिदिन्छन्, र तिनीहरूमाथि चक्का गुड़ाउँछन्।
27 मानिसको आत्मा परमप्रभुको बत्ती हो, जसले शरीरका सबै भित्री भागहरूको खोजी गर्छ।
28 करुणा र सत्यताले राजालाई सुरक्षित राख्छन्; अनि उनको सिंहासन करुणाद्वारा सम्हालिन्छ।
29 जवान मानिसहरूको महिमा तिनीहरूको बल हो; अनि वृद्ध मानिसहरूको सुन्दरता फुलेको केश हो।
30 चोटका नीला डामहरूले खराबीलाई धोइपठाउँछन्, त्यसरी नै कोर्राका चोटहरूले शरीरका भित्री भागहरूलाई धोइपठाउँछन्।