19
छली कुरा गर्ने र मूर्ख मान्छेभन्दा त त्यो गरिब मानिस नै उत्तम हो, जो आफ्नो इमानदारीपनमा हिँड़्छ।
2 अँ, ज्ञानरहित हुनु प्राणका निम्ति असल होइन; अनि जसले हिँड़्न हतार गर्छ, त्यसले पाप गर्छ।
3 मान्छेको मूर्खताले त्यसको चाल टेढ़ा पारिदिन्छ; अनि त्यसको हृदय परमप्रभुको विरोधमा चिढ़िन्छ।
4 धनले धेरै साथीहरू बनाउँछ; तर गरिबचाहिँ आफ्नो छिमेकीबाट अलग पारिन्छ।
5 झूटो साक्षी दण्ड नपाई छोड़िनेछैन; अनि झूट बोल्ने मान्छे उम्कनेछैन।
6 शासकको कृपा पाउनलाई धेरैजनाले बिन्तीभाउ चढ़ाउँछन्; अनि हरेक मानिस उपहार दिनेको साथी बन्छ।
7 गरिबका सबै दाजुभाइहरूले त्यसलाई घृणा गर्छन्; त त्यसका साथीहरू त्योदेखि झन् कति पर हट्छन्! त्यसले वचनहरूद्वारा मनाउँदै तिनीहरूलाई पछ्याउँछ, तर ती पाइँदैनन्।
8 जसले बुद्धि प्राप्‍त गर्छ, उसले आफ्नै प्राणलाई प्रेम गर्छ; जसले समझ जोगाइराख्छ, उसले असल चीज प्राप्‍त गर्नेछ।
9 झूटो साक्षी दण्ड नपाई छोड़िनेछैन; अँ, झूट बोल्ने नाश हुनेछ।
10 मूर्खलाई सुख सुहाउँदैन; त नोकरलाई शासकहरूमाथि शासन गर्नु झन् सुहाउँदैन।
11 मान्छेको सुझबुझले उसको रिस मन्‍द पार्छ; अनि अपराधमाथि ध्यान नदिनुचाहिँ उसको महिमा हो।
12 राजाको क्रोधचाहिँ सिंहको गर्जनजस्तो हो; तर उनको कृपाचाहिँ घाँसमाथि झरेको शीतजस्तो हो।
13 मूर्ख छोराचाहिँ त्यसका बुबाका निम्ति विपत्ति हो; अनि स्‍वास्‍नीका रगड़ाझगड़ाचाहिँ कहिल्यै नटुङ्गिने पानीको तपतप हो।
14 घर र धन पैतृक सम्पत्ति हुन्; अनि बुद्धिमती पत्‍नीचाहिँ परमप्रभुबाटकी हो।
15 अल्छीपनाले गहिरो निद्रामा पार्छ; अनि अल्छे प्राण भोकले तड़्पिनेछ।
16 जसले आज्ञा पालन गर्छ, उसले आफ्नै प्राणको रक्षा गर्छ; तर जसले उहाँका मार्गहरूलाई तुच्छ ठान्छ, त्यो मर्नेछ।
17 जसले गरिबमाथि दया देखाउँछ, उसले परमप्रभुलाई सापट दिन्छ; अनि उसले जे दिएको छ, त्यो उहाँले उसलाई फिर्ता गरिदिनुहुनेछ।
18 आशा होउन्जेल आफ्नो छोरालाई ताड़ना देऊ, अनि त्यसलाई मर्न दिने मन तिम्रो नहोस्!
19 कड़ा रिस हुने मान्छेले दण्ड भोग्‍नेछ; किनकि तिमीले त्यसलाई छुटायौ भने तिमीले फेरि पनि त्यसै गर्नुपर्छ।
20 सल्‍लाह सुन, अनि शिक्षा ग्रहण गर, र तिम्रो आउँदो समयमा तिमी बुद्धिमान् हुन सक!
21 मानिसको हृदयमा धेरै युक्तिहरू हुन्छन्; तर परमप्रभुको जुन सल्‍लाह छ, त्यही सल्‍लाह स्थिर रहन्छ।
22 मानिसको दया नै उसको चाहना हो; अनि झूट बोल्ने मान्छेभन्दा गरिब नै उत्तम हो।
23 परमप्रभुको भयले जीवनमा पुर्‍याउँछ; अनि जससँग त्यो हुन्छ, ऊ सन्तुष्‍ट रहन्छ; उसमाथि खराबी आइपर्नेछैन।
24 अल्छे मान्छेले आफ्नो हात थालमा डुबाउँछ र त्यसलाई आफ्नो मुखसम्म ल्याउन पनि चाहँदैन। 25 गिल्‍ला गर्नेलाई हिर्काऊ, र बोधो मानिस होशियार बन्‍नेछ; अनि समझदारलाई हप्काऊ, र उसले ज्ञान बुझ्नेछ। 26 जसले आफ्नो बुबालाई उजाड़ पार्छ र आफ्नी आमालाई लखेट्छ, त्यही हो शर्ममा पार्ने र बेइज्जती ल्याउने छोरो। 27 हे मेरा छोरा, शिक्षा सुन्‍न छोड़िदेऊ, र तिमी ज्ञानका वचनहरूबाट भड़्किनेछौ।
28 भक्तिहीन साक्षीले न्यायलाई ठट्टामा उड़ाउँछ; अनि दुष्‍टहरूको मुखले अधर्म निल्छ।
29 गिल्‍ला गर्नेहरूका निम्ति दण्डहरू, र मूर्खहरूको पिठ्यूँका निम्ति कोर्राहरू तयार पारिएका छन्।