18
जसले आफूलाई अलग पार्छ, त्यसले आफ्नै लालसा पूरा गर्न खोज्छ; त्यसले सबै खाँटी बुद्धिको विरोध गर्छ।2 मूर्ख मान्छे समझको कुरामा होइन, तर आफ्नो हृदयको कुरा प्रकट गर्नुमा आनन्दित हुन्छ।
3 जब दुष्ट मान्छे आउँछ, तब अपमान पनि आउँछ; अनि अनादरको साथमा निन्दा आउँछ।
4 मानिसको मुखका वचनहरू गहिरा पानीजस्ता हुन्छन्; अनि बुद्धिको धाराचाहिँ बहिरहने खोलाझैं हुन्छ।
5 न्यायमा धर्मी जनलाई पन्साएर दुष्टको पक्ष लिनु राम्रो होइन।
6 मूर्खका ओठहरू झगड़ामा पस्छन्, र त्यसको मुखले चाहिँ पिटाइ निम्त्याउँछ।
7 मूर्खको मुख त्यसको विनाश हो, र त्यसका ओठहरूचाहिँ त्यसको प्राणका निम्ति पासो हुन्।
8 कुरा बोकुवाका वचनहरू स्वादिष्ठ खानेकुराजस्तैक हुन्छन्, र ती पेटका भित्री भागहरूसम्म जान्छन्।
9 अँ, जसले आफ्नो काममा अल्छी गर्छ, त्यो सर्वनाश गर्नेको भाइ हो।
10 परमप्रभुको नाम बलियो धरहरा हो; धर्मी जन त्यसभित्र दगुरेर जान्छ, र सुरक्षित रहन्छ।
11 धनी मानिसको धन नै त्यसको बलियो शहर हो, र त्यसको विचारमा त्यो अति अग्लो पर्खालजस्तो हो।
12 विनाश हुनुभन्दा पहिले मानिसको हृदय अहङ्कारी हुन्छ, र आदर पाउनुभन्दा पहिले नम्रता हुन्छ।
13 जसले कुरा सुन्नुभन्दा पहिल्यै त्यसको जवाफ दिन्छ, त्यो त्यसका निम्ति मूर्खता र शर्म हो।
14 मान्छेको आत्माले उसको रोग थाम्छ; तर घायल आत्मालाई कसले सहन सक्छ?
15 समझदार मानिसको हृदयले ज्ञान प्राप्त गर्छ, अनि बुद्धिमान्को कानले ज्ञानको खोजतलाश गर्छ।
16 मान्छेको उपहारले उसका निम्ति ठाउँ तयार पार्छ र उसलाई ठूला मानिसहरूका सामु ल्याइपुर्याउँछ।
17 आफ्नो मामलामा जो पहिले बोल्छ, त्यही नै ठीक देखा पर्छ; तर त्यसको प्रतिवादी आउँछ र त्यसको खोजतलाश गर्छ।
18 गोला हाल्नाले झगड़ाहरू थामिन्छन् र शक्तिशालीहरूलाई एक-अर्काबाट अलग पार्छ।
19 बलियो शहरलाई जित्नुभन्दा ठेस खुवाइएको भाइलाई जित्नु गाह्रो छ; अनि तिनीहरूका झगड़ाहरूचाहिँ किल्लाका आग्लाहरूजस्तै हुन्छन्।
20 मान्छेको पेट उसको मुखको फलले भरिनेछ; अनि उसका ओठको कमाइले ऊ तृप्त हुनेछ।
21 मृत्यु र जीवन जिब्राको वशमा छन्; अनि जसले यसलाई प्रेम गर्छन्, तिनीहरूले यसको फल खानेछन्।
22 जसले पत्नी पाउँछ, उसले असल कुरा पाउँछ र परमप्रभुबाट कृपा प्राप्त गर्छ।
23 गरिबले बिन्तीभाउहरू चढ़ाउँछ; तर धनवान्ले रूखो जवाफ दिन्छ।
24 साथीहरू हुने मानिस आफै पनि मिलनसार हुनुपर्छख; अनि एकजना साथी छन्, जो भाइभन्दा पनि बढ़ी नजिकमा टाँसिन्छन्।