17
झगड़ाको साथमा बलि-पशुहरूले भरिएको घरभन्दा शान्तिको साथमा निस्तो गाँस नै उत्तम हो।
2 बुद्धिमान् दासले शर्ममा पार्ने छोरामाथि शासन गर्नेछ, र दाजुभाइहरूको बीचमा पैतृक सम्पत्तिको हिस्‍सा पाउनेछ।
3 चाँदीका निम्ति खार्ने भाँड़ा, सुनका निम्ति भट्टी, तर हृदयहरूलाई चाहिँ परमप्रभुले जाँच्‍नुहुन्छ।
4 कुकर्मीले झूट बोल्ने ओठहरूमा ध्यान दिन्छ; अनि झूट बोल्नेले चाहिँ विनाशकारी जिब्रोतिर कान लगाउँछ।
5 जसले गरिबलाई खिसी गर्छ, त्यसले उसका सृष्‍टिकर्तालाई अपमान गर्छ; जो अरूका विपत्तिहरूमा रमाउँछ, त्यो दण्ड नपाई छोड़िनेछैन
6 नातिपनाति वृद्धहरूका मुकुट हुन्; अनि छोराछोरीहरूका महिमाचाहिँ तिनीहरूका बुबाहरू हुन्।
7 मूर्खलाई उत्तम बोली सुहाउँदैन; शासकलाई झूट बोल्ने ओठ त झन् सुहाउँदैनन्।
8 घूस दिने मानिसका आँखाहरूमा घूस बहुमूल्य पत्थर हो; जता त्यो घुम्छ, त्यतै त्यो सफल हुन्छ।
9 जसले अपराधलाई ढाकिदिन्छ, उसले प्रेमको खोज गर्छ; तर जसले घरी-घरी कुरा दोहोर्‍याउँछ, त्यसले घनिष्‍ठ साथीहरूमा पनि फाटो ल्याउँछ।
10 समझदार मानिसलाई एउटै हप्कीले जति प्रभाव पार्छ, मूर्खलाई सय कोर्राले पनि त्यति प्रभाव पार्दैन।
11 दुष्‍ट मान्छेले विद्रोह मात्र गर्न खोज्छ; यसकारण त्यसको विरोधमा निष्‍ठुर दूत पठाइनेछ।
12 मूर्खलाई त्यसको मूर्खतामा भेट्नुभन्दा त बरु मानिसले बच्‍चा खोसिएको भालुलाई भेटोस्।
13 जसले भलाइको सट्टामा खराबी गर्छ, त्यसको घरबाट खराबी हट्नेछैन।
14 झगड़ाको शुरुचाहिँ बाँधको पानी छोड़िदिएजस्तै हो; यसकारण वादविवाद बढ़ेर जानुभन्दा पहिल्यै त्यसलाई छोड़िदेऊ!
15 दुष्‍टलाई निर्दोष ठहऱ्याउने र निर्दोषलाई दोषी ठहऱ्याउने – ती दुवै कुरा नै परमप्रभुका निम्ति घृणित हुन्।
16 मूर्खको हृदयमा बुद्धिको लागि ठाउँ नै छैन भने त्यसले बुद्धि पाउन किन आफ्नो हातमा दाम राख्‍ने?
17 साथीले सधैंभरि प्रेम गर्छ, अनि भाइचाहिँ विपत्तिको समयको लागि जन्मन्छ।
18 समझ नभएको मान्छे हातमा हात ठोकेर आफ्नो साथीको उपस्थितिमा जमानी बस्छ।
19 जसले अपराधलाई प्रेम गर्छ, त्यसले झगड़ालाई प्रेम गर्छ; अनि जसले आफ्नो ढोका अग्लो पार्छ, त्यसले विनाश खोज्छ।
20 जसको हृदय टेढ़ा छ, त्यसले कुनै असल चीज पाउँदैन; अनि जसको जिब्रो छली छ, त्यो खराबीमा पर्छ।
21 जसले मूर्खलाई जन्माउँछ, त्यसले आफ्नो शोकका निम्ति यसो गर्छ; अनि मूर्खको बुबालाई आनन्द हुँदैन।
22 आनन्दित हृदयले औषधीले झैं आरोग्यता ल्याउँछ; तर टुटेको आत्माले हड्डीहरूलाई सुकाइदिन्छ।
23 न्यायका मार्गहरू टेढ़ा पार्न दुष्‍टले छातीबाट घूस निकाल्छ।
24 समझ भएको मानिसका निम्ति बुद्धि उसकै अघिल्तिर हुन्छ; तर मूर्खका आँखाहरू पृथ्वीका छेउतिर लागेका हुन्छन्।
25 मूर्ख छोरा त्यसका बुबाका निम्ति शोक, र त्यसलाई जन्माउनेका निम्ति तीतोपना हो।
26 धर्मी जनलाई दण्ड दिनु साँच्‍चै असल होइन, न ता निष्पक्षताको खातिर भारदारहरूलाई पिट्नु नै असल हो।
27 जससँग ज्ञान छ, उसले आफ्ना वचनहरू जोगाउँछ; अनि समझदार मानिस ठण्डा आत्माको हुन्छ।
28 मूर्ख पनि जब चुप लागेर बस्छ, तब बुद्धिमान् ठानिन्छ; जसले आफ्ना ओठहरू बन्द राख्छ, ऊ समझदार मानिस गनिन्छ।