15
नरम जवाफले क्रोधलाई शान्त पार्छ; तर रूखा वचनहरूले रिस उठाउँछन्।
2 बुद्धिमान्‌हरूको जिब्रोले ज्ञान ठीकसँग प्रयोग गर्छ; तर मूर्खहरूको मुखले मूर्खता उकेल्छ।
3 परमप्रभुका आँखाहरू खराब र असल मुनिसहरूलाई निहार्दै सबै ठाउँतिर लागिरहेका छन्।
4 स्वस्थ जिब्रो जीवनको रूख हो; तर त्यसमा भएको टेढ़ापनचाहिँ आत्मालाई तोड़्ने कुरा हो।
5 मूर्खले आफ्ना बुबाको शिक्षालाई तुच्छ ठान्छ; तर जसले हप्की मान्छ, ऊ समझदार हो।
6 धर्मी जनको घरमा प्रशस्त धन हुन्छ; तर दुष्‍टका कमाइहरूमा कष्‍ट हुन्छ।
7 बुद्धिमान्‌हरूका ओठले ज्ञान फैलाउँछन्; तर मूर्खहरूको हृदयले यस्तो गर्दैन।
8 दुष्‍टहरूको बलिदान परमप्रभुका निम्ति घृणित कुरा हो; तर सीधा चाल चल्नेको प्रार्थना उहाँको आनन्द हो।
9 दुष्‍टको चाल परमप्रभुका निम्ति घृणित कुरा हो; तर जो धार्मिकताको पछि लाग्छ, उसलाई उहाँले प्रेम गर्नुहुन्छ।
10 जसले बाटो छोड़्छ, त्यसका निम्ति अनुशासन कष्‍टदायक हुन्छ; अनि जसले हप्कीलाई घृणा गर्छ, त्यो मर्नेछ।
11 अधोलोक र विनाश त परमप्रभुको सामु छन् भने मानिसका सन्तानका हृदयहरू त झन् कति बढ़्‍ता गरी छन्!
12 गिल्‍ला गर्नेले आफ्नो भूलदोष देखाउनेलाई प्रेम गर्दैन, न ता बुद्धिमान्‌हरूकहाँ जान्छ।
13 आनन्दित हृदयले चेहरालाई उज्यालो पारिदिन्छ; तर हृदयको शोकद्वारा आत्मा उदास हुन्छ।
14 समझदार मानिसको हृदयले ज्ञान खोज्छ; तर मूर्खहरूको मुख मूर्खतामा तृप्‍त हुन्छ।
15 पीड़ितका सबै दिनहरू खराब हुन्छन्; तर आनन्दित हृदय भएको मानिसका निम्ति निरन्‍तर भोजैभोज छ।
16 बेचैनीको साथमा थुप्रै सम्पत्तिभन्दा परमप्रभुको भयको साथमा थोरै सम्पत्ति उत्तम हो।
17 प्रेमले दिइएको सागपातको भोजनचाहिँ घृणासँग दिइएको पोसाएको गोरुभन्दा उत्तम हो।
18 क्रोधी मान्छेले झगड़ा मच्च्याउँछ; तर जो रिसाउनुमा ढिलो हुन्छ, उसले झगड़ा शान्त पार्छ।
19 अल्छेको मार्ग काँड़ैकाँड़ाको बारजस्तो हो; तर धर्मी जनहरूको मार्गचाहिँ राजमार्ग हो।
20 बुद्धिमान् छोराले बुबालाई आनन्दित तुल्याउँछ, तर मूर्ख मान्छेले आफ्नी आमालाई तुच्छ ठान्छ।
21 बुद्धिहीनको लागि मूर्खता आनन्द हो; तर समझदार मानिस सीधा चालमा हिँड़्छ।
22 विनासल्‍लाह योजनाहरू विफल हुन्छन्; तर धेरै सल्‍लाहकारहरू भएमा ती सफल हुन्छन्।
23 आफ्नो मुखको जवाफद्वारा मानिसले आनन्द पाउँछ; अनि ठीक समयमा बोलिएको वचन कति असल हुन्छ!
24 बुद्धिमान् मानिसका निम्ति जीवनको मार्ग माथि-माथि जान्छ, र ऊ तलको नरकबाट उम्कन्छ।
25 घमण्डीहरूको घरलाई परमप्रभुले भत्काउनुहुनेछ, तर विधवाको सिमाना उहाँले स्थिर पार्नुहुनेछ।
26 दुष्‍टका विचारहरू परमप्रभुका निम्ति घृणित कुरा हुन्; तर शुद्ध जनहरूका वचनहरू आनन्दित तुल्याउने वचन हुन्छन्।
27 नीच कमाइको लोभीले आफ्नै घरलाई कष्‍ट दिन्छ; तर जसले घूसलाई घृणा गर्छ, ऊ जीवित रहन्छ।
28 धर्मी जनको हृदयले कसरी जवाफ दिऊँ भनी सोच्छ; तर दुष्‍टहरूको मुखले खराब कुराहरू उकेलिहाल्छ।
29 दुष्‍टहरूदेखि परमप्रभु टाढ़ा रहनुहुन्छ; तर उहाँले धर्मी जनहरूको प्रार्थना सुन्‍नुहुन्छ।
30 आँखाहरूको चमकले हृदयलाई आनन्दित तुल्याउँछ; अनि शुभ समाचारले हड्डीहरूलाई पुष्‍ट पार्छ।
31 जुन कानले जीवनदायक हप्कीलाई सुन्छ, त्यो बुद्धिमान्‌हरूको बीचमा रहन्छ।
32 जसले शिक्षा अस्वीकार गर्छ, त्यसले आफ्नै प्राणलाई तुच्छ ठान्छ; तर जसले हप्कीलाई सुन्छ, उसले समझ पाउँछ।
33 परमप्रभुको भय मान्‍नुचाहिँ बुद्धि पाउने शिक्षा हो; अनि आदर पाउनुभन्दा अघि नम्रता आउँछ।