14
हरेक बुद्धिमती स्त्रीले आफ्नो घर निर्माण गर्छे; तर मूर्ख स्त्रीले आफ्नै हातले त्यसलाई भत्काउँछे।
2 जो आफ्नो सीधा चालमा हिँड़्छ, उसले परमप्रभुको भय मान्छ; तर जो आफ्ना चालहरूमा टेढ़ा छ, त्यसले उहाँलाई तुच्छ ठान्छ।
3 मूर्खको मुखमा घमण्डको लाठी हुन्छ; तर बुद्धिमान्‌हरूका ओठले उनीहरूलाई रक्षा गर्नेछन्।
4 जहाँ गोरुहरू छैनन्, त्यहाँ डुँड़ त सफा रहन्छ; तर गोरुको बलद्वारा नै धेरै उब्जनी हुन्छ।
5 विश्‍वासयोग्य साक्षीले झूट बोल्नेछैन; तर झूटो साक्षीले झूट कुराहरू बक्नेछ।
6 गिल्‍ला गर्नेले बुद्धिको खोज त गर्छ, तर पाउँदैन; तर जससँग समझ छ, उसको लागि ज्ञान पाउनु सजिलो छ।
7 जब तिमीले त्यस मान्छेमा ज्ञान भएका ओठहरू थाहा गर्दैनौ, तब त्यस मूर्खको सामुबाट गइहाल!
8 आफ्नो चालचलन बुझ्नु नै समझदार मानिसको बुद्धि हो; तर मूर्खहरूको मूर्खताचाहिँ छल हो।
9 मूर्खहरूले पापलाई ठट्टामा उड़ाउँछन्; तर धर्मी जनहरूको अनुग्रह हुन्छ।
10 हृदयले आफ्नै तीतोपन जान्दछ; अनि पराई मानिस त्यसको आनन्दमा भागी हुँदैन।
11 दुष्‍टहरूको घर उजाड़ पारिनेछ; तर सीधा चाल चाल्नेको तम्बूले उन्‍नति गर्नेछ।
12 एउटा बाटो छ, जुनचाहिँ मान्छेको दृष्‍टिमा ठीक देखा पर्छ, तर त्यसको अन्त्यचाहिँ मृत्युका बाटाहरू नै हुन्।
13 हाँसेको बेलामा पनि हृदय शोकले भरिएको हुन्छ; अनि त्यस खुशीयालीको अन्त्यचाहिँ खिन्‍नता हुन्छ।
14 पछि हट्ने हृदय भएको मानिसले आफ्नै चालहरूको फल भोग्‍नेछ; अनि असल मानिस आफैबाट सन्तुष्‍ट हुनेछ।
15 बोधो मान्छेले हरेक कुरा विश्‍वास गर्छ; तर समझदार मानिसले आफ्नो पाइलामा ध्यान दिन्छ
16 बुद्धिमान् मानिस डराउँछ, र खराबीबाट हट्छ; तर मूर्खचाहिँ राँकिन्छ, र निश्‍चिन्‍त भई बस्छ।
17 झड़ङ्ग रिसाउने मान्छेले मूर्खतापूर्वक काम गर्छ; अनि दुष्‍ट युक्ति गर्ने मान्छेलाई घृणा गरिनेछ।
18 बोधाहरू मूर्खताका हकदार हुन्छन्; तर समझदारहरूलाई ज्ञानको मुकुट पहिराइनेछ।
19 खराब मानिसहरूले असल मानिसहरूको सामु, र दुष्‍टहरूले धर्मी जनहरूका मूलढोकाहरूमा दण्‍डवत्‌ गर्नेछन्।
20 गरिब मानिस आफ्नै छिमेकीद्वारा पनि घृणा गरिनेछ; तर धनीका धेरै साथीहरू हुन्छन्।
21 जसले आफ्नो छिमेकीलाई तुच्छ ठान्छ, त्यसले पाप गर्छ; तर जसले गरिबहरूमाथि दया राख्छ, ऊ धन्यको हो।
22 के खराब युक्ति गर्नेहरू भड़्किएर जाँदैनन् र? तर असल युक्ति रच्‍नेहरूले करुणा र सत्यता पाउनेछन्।
23 सबै परिश्रमबाट लाभ हुन्छ; तर ओठले बकबक गर्नाले गरिबी मात्र आउँछ।
24 बुद्धिमान्‌हरूको मुकुट उनीहरूको धनसम्पत्ति हो; तर मूर्खहरूको मूर्खपना मूर्खता हो।
25 साँचो साक्षीले आत्माहरू छुटाउँछ; तर धोका दिने साक्षीले झूट कुराहरू बक्छ।
26 परमप्रभुको भय मान्‍नाले बलियो भरोसा हुन्छ; अनि उहाँका छोराछोरीहरूले शरणस्थान पाउनेछन्।
27 मृत्युका पासाहरूबाट उम्कनका निम्ति परमप्रभुको भय जीवनको मूल हो।
28 प्रजाको ठूलो संख्यामा राजाको आदर हुन्छ; तर प्रजाको अभावमा शासकको पतन हुन्छ।
29 जो रिसाउनुमा ढिलो हुन्छ, उसको समझशक्ति ठूलो छ; तर जो झड़ङ्ग रिसाउँछ, त्यसले मूर्खतालाई उचाल्छ।
30 स्वस्थ मन शरीरको प्राण हो; तर डाहाचाहिँ हड्डीहरूको सड़ावट हो।
31 जसले गरिबलाई थिचोमिचो गर्छ, त्यसले उसको सृष्‍टिकर्ताको अपमान गर्छ; तर जसले उहाँलाई आदर गर्छ, उसले गरिबलाई दया देखाउँछ।
32 दुष्‍ट आफ्‍नै दुष्‍टताले गर्दा लखेटिन्छ; तर धर्मी जनलाई आफ्नो मृत्युमा पनि आशा हुन्छ।
33 समझदार मानिसको हृदयमा बुद्धिले वास गर्छ; तर मूर्खहरूको बीचमा जे छ, त्यो प्रकट हुनेछ।
34 धार्मिकताले देशलाई माथि उचाल्छ; तर पापचाहिँ कुनै पनि जातिका निम्ति कलङ्क हो।
35 बुद्धिमान् दासप्रति राजाको कृपादृष्‍टि रहन्छ; तर शर्ममा पार्ने दासप्रति उनको क्रोध रहन्छ।