148
तिमीहरूले याहको स्तुति गर! स्वर्गबाट परमप्रभुको स्तुति गर; उच्‍च स्थानहरूमा उहाँको स्तुति गर!
2 हे उहाँका सबै दूतहरूहो, उहाँको स्तुति गर; हे उहाँका सारा सेनाहरूहो, उहाँको स्तुति गर!
3 हे सूर्य र चन्द्रमाहो, उहाँको स्तुति गर; हे सबै ज्योतिर्मय ताराहरूहो, उहाँको स्तुति गर!
4 हे आकाशहरूको आकाश, हे आकाशमाथिका पानीहो, उहाँको स्तुति गर!
5 तिनीहरूले परमप्रभुको नामको स्तुति गरून्; किनभने उहाँले आज्ञा दिनुभयो, र ती सृजिए।
6 अनि उहाँले तिनीहरूलाई सदा-कालका निम्ति स्थापित गर्नुभयो; उहाँले एउटा आदेश दिनुभयो, जो टल्नेछैन।
7 हे अजिङ्गरहरू र सबै सागरहरूहो, पृथ्वीबाट परमप्रभुको स्तुति गर!
8 हे आगो र असिना, हिउँ र कुइरो, उहाँको वचन पालन गर्ने आँधीबतासहो;
9 हे पहाड़हरू र सबै डाँड़ाहरू, फलाइला रूखहरू र देवदारहरूहो;
10 हे पशुहरू र सबै गाईबस्तु, घस्रने जन्तुहरू र उड़्ने चराहरूहो;
11 हे पृथ्वीका राजाहरू र सबै जातिका मानिसहरू, शासकहरू र पृथ्वीका सबै न्यायाधीशहरूहो;
12 दुवै जवानहरू र कुमारीहरूहो, वृद्ध मानिसहरू र केटाकेटीहरूहो;
13 तिनीहरूले परमप्रभुको नामको स्तुति गरून्; किनभने उहाँको नाम मात्र सर्वोत्तम छ; उहाँको महिमा पृथ्वी र आकाशमाथि छ।
14 उहाँले आफ्नो प्रजाको सिङ उच्‍च पार्नुहुन्छ; जोचाहिँ उहाँका सबै पवित्र जनहरू अर्थात् उहाँको नजिकमा रहने प्रजा इस्राएलका सन्तानका निम्ति प्रशंसाको विषय हो। तिमीहरूले याहको स्तुति गर!