147
तिमीहरूले याहको स्तुति गर! किनभने हाम्रा परमेश्‍वरको स्तुति गाउनु असल हो; किनकि यो मनोहर हुन्छ; र स्तुति गर्नु सुहाउँदो कुरो हो।
2 परमप्रभुले यरूशलेम निर्माण गर्नुहुन्छ; उहाँले इस्राएलका निकालिएकाहरूलाई भेला गराउनुहुन्छ।
3 उहाँले टुटेको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ र उनीहरूका चोटहरूमा मलहमपट्टी बाँध्‍नुहुन्छ।
4 उहाँले ताराहरूको संख्या बताउनुहुन्छ; उहाँले ती सबैलाई नाम काढ़ी-काढ़ी बोलाउनुहुन्छ।
5 हाम्रा प्रभु महान् र अति शक्तिशाली हुनुहुन्छ; उहाँको समझ अपार छ।
6 परमप्रभुले थिचोमिचोमा परेकाहरूलाई सम्हाल्नुहुन्छ; उहाँले दुष्‍टहरूलाई भुइँमा पछार्नुहुन्छ।
7 धन्यवादसाथ परमप्रभुका निम्ति गाओ; वीणा बजाउँदै हाम्रा परमेश्‍वरको स्तुति गाओ;
8 उहाँले आकाशलाई बादलले ढाक्नुहुन्छ; उहाँले पृथ्वीका निम्ति पानीझरी तयार गर्नुहुन्छ; उहाँले पहाड़हरूमा घाँसहरू उमार्नुहुन्छ।
9 उहाँले पशुहरूलाई, र कागका कराइरहने बच्‍चाहरूलाई तिनीहरूको आहार दिनुहुन्छ।
10 उहाँ घोड़ाको बलमा प्रसन्‍न हुनुहुन्‍न, न ता मान्छेका खुट्टाहरूमा नै खुशी हुनुहुन्छ।
11 परमप्रभु त उहाँको डर मान्‍नेहरूसँग, उहाँको करुणामा आशा राख्‍नेहरूसँग पो प्रसन्‍न रहनुहुन्छ।
12 हे यरूशलेम, परमप्रभुको प्रशंसा गर्! हे सियोन, आफ्ना परमेश्‍वरको स्तुति गर्;
13 किनभने उहाँले तेरा मूलढोकाहरूका आग्लाहरू बलियो पार्नुभएको छ; उहाँले तेरा छोराछोरीहरूलाई तँभित्र आशिष्‌ दिनुभएको छ।
14 उहाँले तेरा साँधसिमानाहरूमा शान्ति स्थापित गर्नुहुन्छ, र तँलाई सबभन्दा उत्तम गहुँले तृप्‍त पार्नुहुन्छ।
15 उहाँले पृथ्वीमा आफ्नो आज्ञा पठाउनुहुन्छ; उहाँको वचन अत्यन्तै छिटो दगुर्छ।
16 उहाँले ऊनजस्तै गरी हिउँ दिनुहुन्छ; उहाँले खरानीझैं तुसारो छर्नुहुन्छ।
17 उहाँले टुक्रा-टुक्रा गरी आफ्नो बरफ खसाल्नुहुन्छ; उहाँको जाड़ोको सामु को टिक्न सक्छ र?
18 उहाँले आफ्नो वचन पठाउनुहुन्छ र तिनलाई पगाल्नुहुन्छ; उहाँले आफ्नो हावा चलाउनुहुन्छ, र पानी बग्‍न थाल्छ।
19 उहाँले आफ्नो वचन याकूबलाई, अनि आफ्ना नियमहरू र आफ्ना फैसलाहरू इस्राएललाई बताउनुहुन्छ।
20 अरू कुनै जातिसँग उहाँले यस्तो व्यवहार गर्नुभएको छैन; अनि उहाँका फैसलाहरू त तिनीहरूले जानेकै छैनन्। तिमीहरूले याहको स्तुति गर!