146
तिमीहरूले याहको स्तुति गर!क हे मेरो प्राण, परमप्रभुको स्तुति गर्!2 मेरो जीवनभरि नै म परमप्रभुको स्तुति गर्नेछु; ममा जीवन रहुन्जेल म मेरा परमेश्वरको स्तुति गाउनेछु।
3 शासकहरूमाथिख भरोसा नराख, न ता मानिसको सन्तानमाथि नै राख; त्यससँग कुनै छुटकाराग छैन।
4 त्यसको सास निस्कन्छ, त्यो आफ्नो माटोमा फर्किजान्छ; त्यही दिन नै त्यसका कल्पनाहरू नष्ट हुन्छन्।
5 त्यो मानिस धन्य हो, जसको सहायता याकूबका परमेश्वर हुनुहुन्छ, जसको आशा परमप्रभु उसका परमेश्वरमाथि राखिएको हुन्छ;
6 जसले आकाश र पृथ्वी, समुद्र र त्यहाँ भएका सबै थोकहरू बनाउनुभयो, जसले सदा-सर्वदा सत्यता कायम राख्नुहुन्छ;
7 जसले थिचोमिचोमा परेकाहरूको न्याय गर्नुहुन्छ; जसले भोकाएकाहरूलाई भोजन दिनुहुन्छ। परमप्रभुले कैदीहरूलाई मुक्त गर्नुहुन्छ।
8 परमप्रभुले अन्धाहरूका आँखा खोलिदिनुहुन्छ; परमप्रभुले झुकेकाहरूलाई उठाउनुहुन्छ; परमप्रभुले धर्मी जनहरूलाई प्रेम गर्नुहुन्छ;
9 परमप्रभुले परदेशीहरूलाई जोगाउनुहुन्छ; उहाँले टुहुरा र विधवालाई सम्हाल्नुहुन्छ; तर दुष्टहरूको मार्गचाहिँ उहाँले उल्टाइदिनुहुन्छ।
10 हे सियोन, तेरा परमेश्वर परमप्रभुले सदा-सर्वदा पुस्ता-पुस्तासम्म राज्य गर्नुहुनेछ। तिमीहरूले याहको स्तुति गर!क