दाऊदको भजन
143
हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस्; मेरा अन्तर्विन्‍तीहरूतिर कान लगाउनुहोस्; तपाईंको विश्‍वासयोग्यता र तपाईंको धार्मिकतामा मलाई जवाफ दिनुहोस्!
2 अनि आफ्नो दासको विरोधमा मुद्दा नलड़्नुहोस्; किनभने कुनै पनि जिउँदो मानिस तपाईंको दृष्‍टिमा धर्मी ठहरिँदैन।
3 किनकि शत्रुले मेरो प्राणलाई सताएको छ; त्यसले मेरो जिन्दगीलाई प्रहार गरेर भुइँमै मिलाइदिएको छ; त्यसले मलाई उहिले नै मरिगएकाहरूझैं अन्धकारमा बसाएको छ।
4 यसैकारण मभित्र-भित्रै मेरो आत्मा व्याकुल भएको छ; मभित्र-भित्रै मेरो हृदय उदास भएको छ।
5 म उहिलेका दिनहरू सम्झन्छु; म तपाईंका सबै कामहरू ध्यानपूर्वक विचार्छु; म तपाईंका हातको कामको बारेमा गम्भीर चिन्तन गर्छु।
6 तपाईंतिर म आफ्‍ना हातहरू फैलाउँछु; तिर्खाएको जमिनले झैं मेरो प्राण तपाईंका निम्ति तिर्खाउँछ। सेला#
7 हे परमप्रभु, मेरो पुकार झट्टै सुन्‍नुहोस्; मेरो आत्मा मूर्छित हुँदैछ। मदेखि आफ्नो चेहरा नलुकाउनुहोस्; नत्र म खाडलभित्र जानेहरूझैं हुनेछु।
8 बिहानीपख मलाई तपाईंको करुणा सुन्‍ने तुल्याउनुहोस्; किनभने तपाईंमाथि म भरोसा राख्छु। जुन मार्गमा म हिँड़्नुपर्छ, मलाई त्यो मार्ग जान्‍ने तुल्याउनुहोस्; किनकि म आफ्नो प्राणलाई तपाईंतिर उठाउँछु।
9 हे परमप्रभु, मेरा शत्रुहरूबाट मलाई छुटकारा दिनुहोस्; आफूलाई लुकाउन म तपाईंकहाँ भागिआउँछु।
10 मलाई तपाईंको इच्छा पालन गर्न सिकाउनुहोस्; किनकि तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ। तपाईंको आत्मा भला हुनुहुन्छ; मलाई समतल भूमिमा डोर्‍याउनुहोस्!
11 हे परमप्रभु, आफ्नो नामको खातिर मलाई पुनर्जीवित पार्नुहोस्; तपाईंको धार्मिकताअनुसार मेरो प्राणलाई सङ्कष्‍टबाट निकाल्नुहोस्!
12 अनि तपाईंको करुणाको कारणले मेरा शत्रुहरूलाई नष्‍ट पार्नुहोस्, र मेरो प्राणलाई कष्‍ट दिनेहरू सबैलाई नष्‍ट गर्नुहोस्; किनभने म तपाईंको दास हुँ।