दाऊदको मस्किल; एउटा प्रार्थना; जब उनी गुफामा थिए।
142
मेरो सोरले मैले परमप्रभुलाई पुकारें; मेरो सोरले नै मैले परमप्रभुलाई विन्‍ती चढ़ाएँ।
2 उहाँको सामु मैले मेरो गुनासो पोखें; उहाँकै सामु मैले आफ्नो दुःख प्रकट गरें।
3 मभित्र-भित्रै मेरो आत्मा खिन्‍न हुँदा तपाईंले मेरो चाल जान्‍नुहुन्‍थ्‍यो। म हिँड़ेको बाटोमा तिनीहरूले मेरा निम्ति गुप्‍त रूपले पासो थापेका छन्।
4 मेरो दाहिनेतिर नजर लगाएर हेर्नुहोस्; किनकि मलाई चिन्‍ने कोही छैन; मेरा निम्ति कुनै शरणस्थान रहेन; कसैले मेरो प्राणको वास्ता गरेन।
5 हे परमप्रभु, मैले तपाईंलाई पुकारें; मैले भनें: ‘तपाईं मेरो शरणस्थान र जीवितहरूको देशमा मेरो भाग हुनुहुन्छ।’
6 मेरो पुकारतिर ध्यान दिनुहोस्; किनकि म साह्रै होच्याइएको छु। मलाई सताउनेहरूबाट मलाई छुटकारा दिनुहोस्; किनकि तिनीहरू मभन्दा बलिया छन्।
7 तपाईंको नामको प्रशंसा गर्न मेरो प्राणलाई कैदबाट निकाल्नुहोस्; धर्मी जनहरूले मलाई घेर्नेछन्; किनभने तपाईंले मलाई प्रशस्त गरी दिनुहुनेछ