दाऊदको भजन
141
हे परमप्रभु, म तपाईंलाई पुकार्छु; मकहाँ आउन हतार गर्नुहोस्; मैले तपाईंलाई पुकार्दा मेरो सोरतिर कान लगाउनुहोस्!
2 मेरो प्रार्थना तपाईंको सामु सुगन्धित धूपजस्तै, र मेरा हातहरू उठाउनुचाहिँ बेलुकाको बलिदानजस्तै ठहरिऊन्!
3 हे परमप्रभु, मेरो मुखको अघि पाले राखिदिनुहोस्; मेरा ओठहरूको ढोकामा रखवाली गर्नुहोस्!
4 मेरो हृदय अधर्म गर्ने मानिसहरूसित दुष्‍ट कामहरू गर्नका निम्ति कुनै खराब कुरातिर ढल्कन नदिनुहोस्; अनि मलाई तिनीहरूका मीठा-मीठा खानेकुराबाट मैले खानु नपरोस्!
5 धर्मी जनले मलाई हिर्काओस्, त्यो त दया ठहर्नेछ; उसले मलाई हप्काओस्, त्योचाहिँ उत्तम तेल मानिनेछ, जसलाई मेरो शिरले अस्वीकार गर्नेछैन; किनभने तिनीहरूका विपत्तिहरूमा मेरो प्रार्थना अझ पनि जारी रहनेछ।
6 जब तिनीहरूका न्यायाधीशहरू पहरामाथिबाट खसालिन्छन्, तब तिनीहरूले मेरा वचनहरू सुन्‍नेछन्; किनभने ती मीठा छन्।
7 कसैले जमिनमा दाउरा काट्दा र चिर्दा भएझैं हाम्रा हड्डीहरू चिहानको मुखमा छरिएका छन्।
8 तर हे यहोवा प्रभु, मेरा आँखाहरू तपाईंतिर लागेका छन्; तपाईंमाथि म भरोसा राख्छु; मेरो प्राणलाई सहाराहीन नछोड़्नुहोस्!
9 तिनीहरूले मेरा निम्ति थापेको पासोबाट र कुकर्मीहरूका धरापहरूबाट मलाई जोगाउनुहोस्!
10 दुष्‍टहरू आफ्नै जालहरूभित्र परून्, त्यसै बेला मचाहिँ उम्कूँ!