दाऊदको भजन
138
मेरो सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु; देवताहरूको सामु म तपाईंको स्तुति गाउनेछु।
2 तपाईंको पवित्र मन्दिरतर्फ म दण्‍डवत्‌ गर्नेछु र तपाईंको करुणा र तपाईंको सत्यताका निम्ति तपाईंको नामको प्रशंसा गर्नेछु; किनभने तपाईंले आफ्नो वचन आफ्नो सारा नामभन्दा उच्‍च तुल्याउनुभएको छ।
3 मैले जुन दिन पुकारें, त्यही दिन तपाईंले मलाई जवाफ दिनुभयो; तपाईंले मेरो प्राणलाई बल दिईकन मलाई साहसिलो तुल्याउनुभयो।
4 हे परमप्रभु, पृथ्वीका सबै राजाहरूले तपाईंको मुखका वचनहरू सुनेर तपाईंको प्रशंसा गर्नेछन्।
5 अँ, तिनीहरूले परमप्रभुका मार्गहरूको विषयमा गाउनेछन्; किनभने परमप्रभुको महिमा महान् छ।
6 परमप्रभु उच्‍च हुनुभए तापनि उहाँले नम्रलाई हेर्नुहुन्छ; तर घमण्डीलाई चाहिँ उहाँले टाढ़ैबाट चिन्‍नुहुन्छ।
7 सङ्कष्‍टको बीचमा म हिँड़े तापनि तपाईंले मलाई पुनर्जीवित पार्नुहुनेछ। मेरा शत्रुहरूको क्रोधको विरोधमा तपाईंले आफ्नो हात बढ़ाउनुहुनेछ, र तपाईंको दाहिने हातले मलाई बचाउनेछ।
8 परमप्रभुले मसित सम्बन्धित जे कुरा छ, सो पूरा गर्नुहुनेछ; हे परमप्रभु, तपाईंको करुणा सदा-सर्वदा रहिरहन्छ; तपाईंका हातका कामहरू नत्याग्‍नुहोस्!