135
तिमीहरूले याहको स्तुति गर! परमप्रभुको नामको स्तुति गर; हे परमप्रभुका दासहरूहो, उहाँको स्तुति गर!
2 तिमीहरू, जो परमप्रभुको भवनमा, हाम्रा परमेश्‍वरको भवनका चोकहरूमा उभिन्छौ,
3 तिमीहरूले याहको स्तुति गर! किनभने परमप्रभु भला हुनुहुन्छ। उहाँको नामको स्तुति गाओ; किनभने यो मनोहर छ।
4 किनकि याहले याकूबलाई आफ्नै निम्ति चुन्‍नुभएको छ, अँ, इस्राएललाई आफ्नो निज सम्पत्ति हुनका निम्ति चुन्‍नुभएको छ।
5 किनभने म जान्दछु, परमप्रभु महान् हुनुहुन्छ, र हाम्रा प्रभु सबै देवताहरूभन्दा महान् हुनुहुन्छ।
6 परमप्रभुले जे गर्न चाहनुभयो, ती सबै कुरा उहाँले आकाशमा, पृथ्वीमा, समुद्रहरूमा र सबै गहिरा ठाउँहरूमा गर्नुभयो।
7 उहाँले पृथ्वीको छेउबाट कुइरो उठाउनुहुन्छ; उहाँले पानीझरीका निम्ति बिजुली बनाउनुहुन्छ; उहाँले आफ्ना भण्डारहरूबाट बतास निकाल्नुहुन्छ।
8 मिस्र देशमा उहाँले मानिस र पशु दुवैका जेठा-जेठालाई मार्नुभयो।
9 हे मिस्र देश, उहाँले तेरै बीचमा, फाराओ र त्यसका सबै कर्मचारीहरूमाथि चिन्ह र अचम्मका कामहरू पठाउनुभयो।
10 उहाँले ठूला-ठूला जातिहरूलाई प्रहार गर्नुभयो र सामर्थी राजाहरूलाई मार्नुभयो;
11 एमोरीहरूको राजा सिहोन र बाशानको राजा ओगलाई, साथै कनानका सबै राज्यहरूलाई;
12 अनि उहाँले तिनीहरूको देश आफ्नो निज प्रजा इस्राएललाई पैतृक सम्पत्ति, अँ, पैतृक सम्पत्तिको रूपमा दिनुभयो।
13 हे परमप्रभु, तपाईंको नाम सदा-सर्वदा रहिरहन्छ; हे परमप्रभु, तपाईंको सम्झना पुस्ता-पुस्तासम्म रहिरहन्छ।
14 किनभने परमप्रभुले आफ्ना जनहरूको न्याय गर्नुहुनेछ र आफ्ना दासहरूप्रति दया देखाउनुहुनेछ।
15 अन्यजातिहरूका मूर्तिहरू त चाँदी र सुन अर्थात् मानिसका हातका काम मात्र हुन्।
16 तिनीहरूका मुख छन्, तर ती बोल्दैनन्; तिनीहरूका आँखा छन्, तर तिनले देख्दैनन्:
17 तिनीहरूका कान छन्, तर तिनले सुन्दैनन्; न ता तिनीहरूको मुखमा सास नै छ।
18 जसले तिनीहरूलाई बनाउँछन्, ती पनि तिनीहरूजस्तै हुन्; तिनीहरूमाथि भरोसा गर्नेहरू सबै पनि तिनीहरूजस्तै हुन्।
19 हे इस्राएलको घरानाहो, परमप्रभुलाई धन्यको भन; हे हारूनको घरानाहो, परमप्रभुलाई धन्यको भन;
20 हे लेवीको घरानाहो, परमप्रभुलाई धन्यको भन; हे परमप्रभुको डर मान्‍नेहरूहो, परमप्रभुलाई धन्यको भन!
21 परमप्रभु, जसले यरूशलेममा वास गर्नुहुन्छ, सियोनबाट धन्यका होऊन्! तिमीहरूले याहको स्तुति गर!