शोभा-यात्राको गीत (१३)
132
हे परमप्रभु, दाऊदलाई र उनका सबै कष्‍टहरूको सम्झना गर्नुहोस्;
2 कसरी उनले परमप्रभुसँग शपथ खाएका छन्, र याकूबका शक्तिशाली परमेश्‍वरसित भाकल गरेका छन्:
3 ‘निश्‍चय नै म तबसम्म आफ्नो घरको वासस्थानभित्र पस्‍नेछैनँ, न ता आफ्नो पलङमा चढ़्नेछु;
4 म न आफ्‍ना आँखाहरूमा निद्रा, न आफ्‍ना पलकहरूमा उङ आउन दिनेछु;
5 जबसम्म म परमप्रभुका निम्ति एउटा ठाउँ, याकूबका शक्तिशाली परमेश्‍वरका निम्ति एउटा वासस्थान पाउँदिनँ।’
6 हेर, यसको विषयमा हामीले एफ्रातामा सुन्यौं; हामीले यसलाई वनका खुला जमिनहरूमा भेट्टायौं;
7 हामी उहाँका वासस्थानहरूमा जानेछौं; हामी उहाँको पाउदानमा दण्‍डवत्‌ गर्नेछौं।
8 हे परमप्रभु, उठ्नुहोस्, तपाईंको विश्रामस्थानभित्र आउनुहोस् – तपाईं र तपाईंको सामर्थ्यको सन्दुक!
9 तपाईंका पूजाहारीहरूले धार्मिकताको वस्त्र पहिरेका होऊन्; अनि तपाईंका पवित्र जनहरू हर्षले चिच्च्याऊन्!
10 आफ्नो दास दाऊदको खातिर आफ्नो अभिषिक्त जनको मुख नफर्काइदिनुहोस्!
11 परमप्रभुले दाऊदसँग सच्‍चाइसाथ शपथ खानुभएको छ; यस कुराबाट उहाँ पछि हट्नुहुनेछैन: ‘तिम्रै शरीरको फलबाट कसैलाई म तिम्रो सिंहासनमा बसाल्नेछु।’
12 तिम्रा सन्तानले मेरो वाचा र मेरो साक्षी-वचन, जो म तिनीहरूलाई सिकाउनेछु, पालन गरे भने तिनीहरूका सन्तान पनि सधैंभरि तिम्रो सिंहासनमाथि बस्‍नेछन्।
13 किनभने परमप्रभुले सियोनलाई चुन्‍नुभएको छ; उहाँले यसलाई आफ्नो वासस्थानका निम्ति चाहनुभएको छ।
14 ‘यो सधैंका निम्ति आफ्‍नो विश्रामस्थान हो; यहाँ म बस्‍नेछु; किनकि यसलाई मैले चाहना गरेको छु।
15 म यसको खानेकुरामा प्रशस्त गरी आशिष्‌ दिनेछु; म यसका गरिबहरूलाई रोटीले तृप्‍त पार्नेछु।
16 अनि यसका पूजाहारीहरूलाई म उद्धारको वस्त्र पहिराउनेछु; अनि यसका पवित्र जनहरू हर्षले उच्‍च सोरमा चिच्च्याउनेछन्।
17 यहाँ नै म दाऊदको सिङको टुसा उमार्नेछु; मैले मेरा अभिषिक्त जनका लागि एउटा बत्ती नियुक्त गरेको छु
18 उनका शत्रुहरूलाई म शर्मको वस्त्र पहिराउनेछु; तर उनीमाथि चाहिँ उनको मुकुट चम्कनेछ।’