118
परमप्रभुलाई धन्यवाद चढ़ाओ; किनभने उहाँ भला हुनुहुन्छ; किनकि उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ।
2 अब इस्राएलले भनोस्: ‘उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ।’
3 अब हारूनको घरानाले भनोस्: ‘उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ।’
4 अब उहाँको डर मान्‍नेहरूले भनून्: ‘उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ।’
5 सङ्कटमा मैले याहलाई पुकारें; याहले मलाई जवाफ दिनुभयो र मलाई फराकिलो ठाउँमा राख्‍नुभयो।
6 परमप्रभु मेरो पक्षमा हुनुहुन्छ, म डराउनेछैनँ; मान्छेले मलाई के गर्न सक्छ र?
7 मलाई सहायता गर्नेहरूसित परमप्रभु मेरो पक्षमा हुनुहुन्छ; यसकारण मलाई घृणा गर्नेहरूमाथि म आफ्‍नो इच्छा पूरा भएको देख्‍नेछु।
8 मानिसमाथि भरोसा पर्नुभन्दा परमप्रभुमाथि भरोसा राख्‍नु उत्तम हो।
9 शासकहरूमाथि भरोसा पर्नुभन्दा परमप्रभुमाथि भरोसा राख्‍नु उत्तम हो।
10 सबै जातिहरूले मलाई घेरा हालेका छन्, तर परमप्रभुको नाममा म तिनीहरूलाई नाश गर्नेछु।
11 तिनीहरूले मलाई घेरा हालेका छन्, अँ, तिनीहरूले मलाई घेरेका छन्; तर परमप्रभुको नाममा म तिनीहरूलाई नाश गर्नेछु।
12 तिनीहरूले मलाई मौरीहरूले झैं घेरेका थिए; तिनीहरू काँड़ाको आगोझैं निभे; तर परमप्रभुको नाममा म तिनीहरूलाई नाश गर्नेछु।
13 म लड़ूँ भनेर तैंले मलाई बेसरी घचेटिस्; तर परमप्रभुले मलाई सहायता गर्नुभयो।
14 याह मेरो बल र मेरो गीत हुनुहुन्छ, अनि मेरो उद्धार हुनुभएको छ।
15 धर्मी जनहरूका पालहरूमा रमाहट र उद्धारको ध्वनि सुनिन्छ; परमप्रभुको दाहिने हातले पराक्रमी काम गर्दछ।
16 परमप्रभुको दाहिने हात उच्‍च पारिएको छ; परमप्रभुको दाहिने हातले पराक्रमी काम गर्दछ।
17 म मर्नेछैनँ, तर बाँच्‍नेछु, र परमप्रभुका कामहरूको वर्णन गर्नेछु।
18 याहले मलाई खूबै ताड़ना दिनुभएको छ; तर उहाँले मलाई मृत्युको वशमा सुम्पिदिनुभएको छैन।
19 मेरा निम्ति धार्मिकताका मूलढोकाहरू खोलिदेओ; म तीभित्र पस्‍नेछु, र परमप्रभुको प्रशंसा गर्नेछु।
20 यो परमप्रभुको मूलाढोका हो, यसभित्र धर्मी जनहरू पस्‍नेछन्।
21 म तपाईंको प्रशंसा गर्नेछु; किनभने तपाईंले मलाई जवाफ दिनुभएको छ, र तपाईं मेरो उद्धार हुनुभएको छ।
22 जुन ढुङ्गालाई डकर्मीहरूले रद्द गरे, त्यही नै कुनाको शिर-ढुङ्गा भएको छ।
23 यो परमप्रभुबाट भएको हो; हाम्रो दृष्‍टिमा यो अद्‌भूत छ।
24 यो दिन परमप्रभुले बनाउनुभएको हो; यसमा हामी रमाउनेछौं र आनन्दित हुनेछौं।
25 हे परमप्रभु, म तपाईंलाई विन्‍ती गर्दछु, अब बचाउनुहोस्; हे परमप्रभु, म तपाईंलाई विन्‍ती गर्दछु, अब उन्‍नति दिनुहोस्!
26 परमप्रभुको नाममा आउने धन्यको हो; हामीले तिमीहरूलाई परमप्रभुको भवनबाट आशीर्वाद दिएका छौं।
27 परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ; उहाँले हामीलाई ज्योति दिनुभएको छ; चाड़को बलि डोरीहरूले वेदीका सिङहरूमा बाँध!
28 तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ, र म तपाईंको प्रशंसा गर्नेछु; तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ; म तपाईंको बढ़ाइ गर्नेछु।
29 परमप्रभुलाई धन्यवाद चढ़ाओ; किनभने उहाँ भला हुनुहुन्छ; किनकि उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ।