116
म परमप्रभुलाई प्रेम गर्दछु; किनभने उहाँले मेरो सोर र मेरा अन्तर्विन्तीहरू सुन्नुभएको छ।2 किनकि उहाँले आफ्नो कान मतिर लगाउनुभएको छ; यसकारण म बाँचुन्जेल उहाँलाई पुकार गर्नेछु।
3 मृत्युका व्यथाहरूले मलाई घेरेका थिए, र नरकका पीड़ाहरूले मलाई पक्रेका थिए; मैले सङ्कष्ट र शोक भोगें।
4 तब मैले परमप्रभुको नाम पुकारें: ‘हे परमप्रभु, म तपाईंलाई विन्ती गर्दछु, मेरो प्राणलाई बचाउनुहोस्!’
5 परमप्रभु अनुग्रहकारी र धर्मी हुनुहुन्छ; अँ, हाम्रा परमेश्वर दयालु हुनुहुन्छ।
6 परमप्रभुले सीधासाधालाई रक्षा गर्नुहुन्छ; म होच्याइएको थिएँ, तर उहाँले मलाई सहायता गर्नुभयोक।
7 हे मेरो प्राण, तँ आफ्नो विश्राममा फर्की; किनभने परमप्रभुले तँलाई प्रशस्त गरी दिनुभएको छख।
8 किनकि तपाईंले मेरो प्राणलाई मृत्युदेखि, मेरा आँखाहरूलाई आँसुदेखि र मेरा पाउहरूलाई लोट्नदेखि जोगाउनुभएको छ।
9 जीवितहरूको देशमा म परमप्रभुको सामु हिँड़्नेछु।
10 मैले विश्वास गरें; यसैले म बोलेको हुँ: ‘म त साह्रै कष्टमा परेको थिएँ।’
11 मैले मेरो आत्तुरीमा भनें: ‘सबै मानिस झूटा हुन्।’
12 परमप्रभुले मप्रति गर्नुभएका सबै उपकारहरूको बदलामा म उहाँलाई के चढ़ाऊँ?
13 उद्धारको कचौरा लिएर म परमप्रभुको नाम पुकार्नेछु।
14 परमप्रभुको समस्त प्रजाको सामु उहाँकै निम्ति अब म आफ्ना भाकलहरू पूरा गर्नेछु।
15 परमप्रभुको दृष्टिमा उहाँका पवित्र जनहरूको मृत्यु अनमोल छ।
16 हे परमप्रभु, साँच्चै म तपाईंको दास हुँ; म तपाईंकी दासीको छोरो, तपाईंको दास हुँ; तपाईंले मेरा बन्धनहरू खोलिदिनुभएको छ।
17 म तपाईंलाई धन्यवादको बलि चढ़ाउनेछु र परमप्रभुको नाम पुकार्नेछु।
18 परमप्रभुको समस्त प्रजाको सामु उहाँकै निम्ति म आफ्ना भाकलहरू पूरा गर्नेछु,
19 परमप्रभुको भवनका चोकहरूमै, हे यरूशलेम, तेरै माझमा। तिमीहरूले याहको स्तुति गर!ग