113
तिमीहरूले याहको स्तुति गर! हे परमप्रभुका दासहरूहो, स्तुति गर! परमप्रभुको नामको स्तुति गर!
2 अहिलेदेखि लिएर सदा-सर्वदा परमप्रभुको नाम धन्यको होस्!
3 सूर्योदयदेखि लिएर सूर्यास्तसम्म परमप्रभुको नामको स्तुति गरिओस्!
4 सबै जातिहरूमाथि परमप्रभु उच्‍च हुनुहुन्छ; उहाँको महिमा आकाशभन्दा उच्‍च छ।
5 उच्‍च स्थानमा विराजमान हुनुहुने परमप्रभु हाम्रा परमेश्‍वरजस्तो को छ र?
6 उहाँ आकाश र पृथ्वीका कुराहरू निहार्नका निम्ति झुक्नुहुन्छ।
7 उहाँले गरिबलाई धूलोबाट उठाउनुहुन्छ र दरिद्रलाई घुरानबाट उचाल्नुहुन्छ,
8 उसलाई भारदारहरूको साथमा, अर्थात् आफ्नो निज प्रजाका भारदारहरूको साथमा बसाल्नका निम्ति।
9 उहाँले बाँझी स्त्रीलाई घर गर्ने र छोराछोरीहरूकी हर्षित आमा तुल्याउनुहुन्छ। तिमीहरूले याहको स्तुति गर!