112
तिमीहरूले याहको स्तुति गर!क त्यो मानिस धन्यको हो, जसले परमप्रभुको डर मान्छ, जो उहाँका आज्ञाहरूमा अति प्रसन्न रहन्छ।2 उसको वंश पृथ्वीमाथि शक्तिशाली हुनेछ; सीधा चालकाहरूको पुस्ता आशिषित हुनेछ;
3 उसको घरमा धन र सम्पत्ति हुनेछन्, र उसको धार्मिकता सदा-सर्वदा रहिरहन्छ।
4 सीधा चालकाहरूका निम्ति अन्धकारमा ज्योति उदाउँछ; ऊ अनुग्रहकारी, दयालु र धर्मी हुन्छ।
5 भलो मानिसले कृपा देखाउँछ र उधारो दिन्छ; उसले आफ्ना कामकुरा सुझबुझले सञ्चालन गर्छ।
6 निश्चय ऊ कहिल्यै डगमगाउनेछैन; धर्मी जनको सम्झना सदा-सर्वदा रहिरहनेछ।
7 खराब समाचारदेखि ऊ डराउनेछैन; परमप्रभुमाथि भरोसा राखेकाले उसको हृदय स्थिर रहन्छ।
8 जबसम्म उसले आफ्नो इच्छा आफ्ना शत्रुहरूमाथि पूरा भएको देख्दैन, तबसम्म उसको हृदय स्थिर रहनेछ, ऊ डराउनेछैन।
9 उसले चारैतिर छरेको छ, उसले गरिबहरूलाई दिएको छ; उसको धार्मिकता सदा रहिरहन्छ; उसको सिङ आदरसाथ उच्च पारिनेछ।
10 दुष्टले यो देख्नेछ, र कुँड़िनेछ; त्यसले दाह्रा किट्नेछ, र पग्लिनेछ; दुष्टहरूको अभिलाषा नष्ट हुनेछ।