भजन
98
परमप्रभुका निम्ति एउटा नयाँ गीत गाओ; किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ; उहाँको दाहिने हातले र उहाँको पवित्र पाखुराले उहाँका निम्ति विजय प्राप्‍त गरेका छन्।
2 परमप्रभुले आफ्नो उद्धार प्रकट गर्नुभएको छ; अन्यजातिहरूको दृष्‍टिमा उहाँले आफ्नो धार्मिकता खुल्‍लमखुल्‍ला प्रकट गर्नुभएको छ।
3 उहाँले इस्राएलको घरानाप्रति आफ्नो करुणा र आफ्नो सत्यता सम्झना गर्नुभएको छ; पृथ्वीका छेउ-छेउसम्मका सबैले हाम्रा परमेश्‍वरको उद्धार देखेका छन्।
4 हे सारा पृथ्वी, परमप्रभुका निम्ति आनन्दको सोर निकाल; उच्‍च सोरले चिच्च्याओ, रमाहट गर र स्तुति गाओ!
5 वीणा बजाएर, हो, वीणा बजाएर र भजनको सोरमा परमप्रभुका निम्ति गाओ!
6 तुरहीहरू र नरसिङ्गाको आवाजमा परमप्रभु राजाको सामु आनन्दको सोर निकाल!
7 समुद्र र त्यसको भरपूरीले आनन्दको गर्जन निकालून्, साथै पृथ्वी र त्यसमा बस्‍नेहरूले पनि!
8 नदीहरूले ताली बजाऊन्; पहाड़हरू परमप्रभुको सामु एकसाथ रमाऊन्;
9 किनकि उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ; उहाँले पृथ्वीको न्याय धार्मिकतामा र जाति-जातिका मानिसहरूको न्याय निष्पक्षतामा गर्नुहुनेछ।