97
परमप्रभुले राज्य गर्नुहुन्छ; पृथ्वी रमाओस्; टापुहरू, जो अनेकौं छन्, आनन्दित होऊन्!
2 बादलहरू र अन्धकार उहाँको वरिपरि छन्; धार्मिकता र न्याय उहाँको सिंहासनको जग हुन्।
3 उहाँको अघि-अघि आगो जान्छ, र चारैतिर त्यसले उहाँका शत्रुहरूलाई जलाइदिन्छ।
4 उहाँका बिजुलीहरूले संसारलाई उज्यालो पारे; पृथ्वीले देख्यो, र थरथर काम्यो।
5 परमप्रभुको उपस्थितिमा, सारा पृथ्वीका प्रभुको उपस्थितिमा पहाड़हरू मैनजस्तै पग्लिए।
6 आकाशले उहाँको धार्मिकताको घोषणा गर्दछ, र सबै मानिसहरूले उहाँको महिमा देख्छन्।
7 खोपिएका मूर्तिहरूको पूजा गर्नेहरू, मूर्तिहरूको विषयमा गर्व गर्नेहरू सबै शर्ममा परून्; हे सबै देवताहरूहो, तिमीहरू उहाँलाई नै दण्‍डवत्‌ गर!
8 सियोनले सुन्यो र आनन्दित भयो; अनि हे परमप्रभु, तपाईंका न्यायहरूको कारणले यहूदाका छोरीहरू रमाए।
9 किनकि हे परमप्रभु, सारा पृथ्वीमाथि तपाईं नै सर्वोच्‍च हुनुहुन्छ; तपाईं सबै देवताहरूभन्दा अति नै उच्‍च हुनुहुन्छ।
10 हे परमप्रभुलाई प्रेम गर्नेहरूहो, खराबीलाई घृणा गर; उहाँले आफ्ना पवित्र जनहरूका प्राणहरूको रक्षा गर्नुहुन्छ; उहाँले उनीहरूलाई दुष्‍टहरूको हातदेखि छुटाउनुहुन्छ।
11 धर्मी जनका निम्ति ज्योति, र सीधा हृदय भएकाहरूका निम्ति आनन्द छरिएको छ।
12 हे धर्मी जनहरूहो, परमप्रभुमा आनन्दित होओ; अनि उहाँको पवित्रताको सम्झनामा धन्यवाद चढ़ाओ!