96
परमप्रभुका निम्ति एउटा नयाँ गीत गाओ; हे सारा पृथ्वी, परमप्रभुका निम्ति गाओ!2 परमप्रभुका निम्ति गाओ, उहाँको नामलाई धन्यको भन; दिन प्रतिदिन उहाँको उद्धारको सुसमाचार सुनाओ!
3 अन्यजातिहरूको बीचमा उहाँको महिमाको, सबै जातिहरूको बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर!
4 किनकि परमप्रभु महान् हुनुहुन्छ, र उहाँको प्रशंसा अति नै गरिनुपर्छ; सबै देवताहरूभन्दा बढ़ी उहाँको भय मान्नुपर्छ।
5 किनकि जाति-जातिका सबै देवताहरू मूर्तिहरू हुन्; तर परमप्रभुले त आकाशलाई सृष्टि गर्नुभयोक।
6 आदर र प्रताप उहाँको सामु छन्; सामर्थ्य र सुन्दरता उहाँको पवित्रस्थानमा छन्।
7 हे जाति-जातिका कुलहरूहो, महिमा र सामर्थ्य परमप्रभुलाई देओ, अँ, परमप्रभुलाई देओ!
8 परमप्रभुलाई उहाँको नामलाई सुहाउँदो महिमा देओ; भेटी लिएर उहाँका चोकहरूमा आओ!
9 पवित्रताको सुन्दरतामा परमप्रभुलाई दण्डवत् गर; हे सारा पृथ्वी, उहाँको सामु थरथर काम्!
10 अन्यजातिहरूको बीचमा भन: “परमप्रभुले राज्य गर्नुहुन्छ; संसार पनि स्थिर पारिनेछ, यसैले त्यो हल्लनेछैन; उहाँले जाति-जातिका मानिसहरूको न्याय धार्मिकतापूर्वक गर्नुहुनेछ।”
11 आकाश रमाओस्, र पृथ्वी आनन्दित होस्; समुद्र र त्यसको भरपूरी गर्जून्!
12 मैदानख र त्यसमा भएका सबै थोक प्रफुल्लित होऊन्; तब जङ्गलका सबै रूखहरू परमप्रभुको सामु रमाउनेछन्;
13 किनकि उहाँ आउनुहुन्छ; किनकि उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ; उहाँले संसारको न्याय धार्मिकतामा र जाति-जातिका मानिसहरूको न्याय आफ्नो सत्यतामा गर्नुहुनेछ।