95
आओ, हामी परमप्रभुका निम्ति गाऔं; हाम्रा उद्धारका चट्टानका निम्ति आनन्दको सोर निकालौं!
2 धन्यवादसाथ उहाँको उपस्थितिमा आऔं, र उहाँका निम्ति भजनहरू गाउँदै आनन्दको सोर निकालौं!
3 किनकि परमप्रभु महान् परमेश्‍वर हुनुहुन्छ, र सबै देवताहरूमाथि महान् राजा हुनुहुन्छ।
4 पृथ्वीका गहिरा-गहिरा ठाउँहरू उहाँकै हातमा छन्; पहाड़हरूका चुचुराहरू पनि उहाँकै हुन्।
5 समुद्र उहाँकै हो, र उहाँले नै त्यसलाई बनाउनुभयो; अनि उहाँकै हातहरूले सुक्खा भूमि बनाए।
6 आओ, हामी दण्‍डवत्‌ गरौं र निहुरौं; परमप्रभु हाम्रा सृष्‍टिकर्ताको सामु घुँड़ा टेकौं!
7 किनकि उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्छ; अनि हामीचाहिँ उहाँको खर्कको प्रजा र उहाँको हातका भेड़ाहरू हौं। आज तिमीहरूले उहाँको आवाज सुन्यौ भने,
8 मरीबामा झैं र उजाड़स्थानमा मस्साको दिनमा झैं आफ्नो हृदय कठोर नपार;
9 जुन समयमा तिमीहरूका पितापुर्खाहरूले मलाई परीक्षा गरे, मलाई जाँचे र मेरो काम देखे;
10 चालीस वर्षसम्म म त्यस पुस्तासँग दुःखित भएँ, र मैले भनें: “यो जाति आफ्नो हृदयमा भड़्केर जाने जाति हो; अनि तिनीहरूले मेरा मार्गहरू जानेका छैनन्;”
11 यसकारण मैले आफ्नो क्रोधमा शपथ खाएँ: “तिनीहरू मेरो विश्राममा पस्‍न पाउनेछैनन्।”