94
हे परमप्रभु, बदला लिनुहुने परमेश्‍वर, हे बदला लिनुहुने परमेश्‍वर, चम्कनुहोस्!
2 हे पृथ्वीका न्यायकर्ता, आफूलाई उठाउनुहोस्, घमण्डीहरूलाई प्रतिफल दिनुहोस्!
3 हे परमप्रभु, कहिलेसम्म दुष्‍टहरू, अँ, कहिलेसम्म दुष्‍टहरू प्रफुल्‍लित होऊन्?
4 कहिलेसम्म तिनीहरू बकबक गर्लान् र ढीठ कुरा बोल्‍लान्? र कहिलेसम्म सबै कुकर्मीहरूले अहङ्कार गर्लान्?
5 हे परमप्रभु, तिनीहरूले तपाईंको प्रजालाई टुक्रा-टुक्रा पार्छन्, र तपाईंको निज सम्पत्तिलाई कष्‍ट दिन्छन्।
6 तिनीहरूले विधवा र परदेशीलाई मार्छन् र टुहुराहरूलाई हत्या गर्छन्।
7 तरै पनि तिनीहरू भन्छन्: “याहले देख्‍नुहुनेछैन, न ता याकूबका परमेश्‍वरले यसमा ध्यान दिनुहुनेछ।”
8 हे मानिसहरूमध्ये विवेकहीनहरूहो, बुझ; अनि हे मूर्खहरूहो, तिमीहरू कहिले बुद्धिमान् हुन्छौ?
9 जसले कान लगाउनुभयो, के उहाँले सुन्‍नुहुनेछैन र? जसले आँखा बनाउनुभयो, के उहाँले देख्‍नुहुनेछैन र?
10 जसले अन्यजातिहरूलाई ताड़ना दिनुहुन्छ, के उहाँले सुधार्नुहुन्‍न र? जसले मानिसलाई ज्ञान सिकाउनुहुन्छ, के उहाँले जान्‍नुहुन्‍न र?
11 परमप्रभुले मानिसका विचारहरू, ती व्यर्थ हुन् भनी जान्‍नुहुन्‍छ।
12 हे याह, त्यो मानिस धन्यको हो, जसलाई तपाईं ताड़ना दिनुहुन्छ, र जसलाई तपाईं आफ्नो व्यवस्थाबाट सिकाउनुहुन्छ;
13 दुष्‍टका निम्ति खाड़ल नखनुन्जेल उसलाई विपत्तिका दिनहरूबाट विश्राम दिनका निम्ति।
14 किनकि परमप्रभुले आफ्नो प्रजालाई फाल्नुहुनेछैन, न ता उहाँले आफ्नो अधिकारको भागलाई त्याग्‍नुहुनेछ।
15 तर न्याय धार्मिकताकहाँ फर्कनेछ; अनि सीधा हृदय भएका सबैजना यसको पछि लाग्‍नेछन्।
16 मेरो पक्षमा भएर खराब काम गर्नेहरूको विरुद्ध को उठ्छ? अथवा मेरो पक्षमा भएर कुकर्मीहरूको विरुद्ध को उभिन्छ?
17 परमप्रभु मेरा सहायता नहुनुभएको भए मेरो प्राणले प्राय: मौनतामा वास लिइसकेको हुनेथियो।
18 जब मैले भनें: “मेरो पाउ चिप्लँदैछ”; तब हे परमप्रभु, तपाईंको करुणाले मलाई थाम्यो।
19 मभित्र भीड़का भीड़ मेरा चिन्ताहरू भएको बेलामा तपाईंका सान्‍त्‍वनाहरूले मेरो प्राणलाई आनन्दित तुल्याउँछन्।
20 के कानुनको आड़मा हानिको युक्ति रच्‍ने अधर्मको सिंहासनले तपाईंसँग सङ्गति राख्ला र?
21 धर्मी जनको प्राणको विरोधमा तिनीहरू भेला हुन्छन्, र निर्दोषलाई दोषी ठहराउँछन्।
22 तर परमप्रभु मेरा रक्षक हुनुहुन्छ, अनि मेरा परमेश्‍वर मेरो शरणस्थानको चट्टान हुनुहुन्छ।
23 अनि तिनीहरूको अधर्म उहाँले तिनीहरूमाथि नै फर्काइदिनुहुनेछ, र तिनीहरूलाई तिनीहरूकै दुष्‍टतामा नाश पार्नुहुनेछ; हो, परमप्रभु हाम्रा परमेश्‍वरले तिनीहरूलाई नाश पार्नुहुनेछ।