विश्रामदिनका निम्ति भजन अथवा गीत
92
परमप्रभुलाई धन्यवाद चढ़ाउनु, र हे परमप्रधान, तपाईंको नामको स्तुति गाउनु असल हो;2 बिहान तपाईंको करुणाको र हरेक रात तपाईंको विश्वासयोग्यताको बयान गर्नु,
3 दसतारे बाजा र सितारमा, अँ, वीणामा गम्भीर ध्वनि बजाएर तपाईंको नामको स्तुति गाउनु असल हो।
4 किनकि हे परमप्रभु, तपाईंले आफ्नो कामद्वारा मलाई आनन्दित तुल्याउनुभएको छ; म तपाईंका हातका कामहरूदेखि हर्षले चिच्च्याउनेछु।
5 हे परमप्रभु, तपाईंका कामहरू कति महान् छन्! तपाईंका विचारहरू अति गहिरा छन्!
6 विवेकहीनक मान्छेले जान्दैन, न ता मूर्खले यो बुझ्दछ।
7 जब दुष्टहरू घाँसजस्तो मौलाउँछन् र जब सबै कुकर्मीहरू फस्टाउँछन्, तब यसको कारण यही हो – तिनीहरू सधैंका निम्ति नष्ट हुनेछन्।
8 तर हे परमप्रभु, तपाईं सदा-सर्वदा उच्च हुनुहुन्छ।
9 किनकि हे परमप्रभु, हेर्नुहोस्, तपाईंका शत्रुहरू; किनकि हेर्नुहोस्, तपाईंका शत्रुहरू नष्ट हुनेछन्; सबै कुकर्मीहरू तितरबितर हुनेछन्।
10 तर मेरो सिङचाहिँ तपाईंले जङ्गली साँढ़ेको सिङझैं उच्च पार्नुहुनेछ; ताजा तेलले म अभिषेक गरिनेछु;
11 र मेरो आँखाले मेरा शत्रुहरूमाथि मेरो इच्छा पूरा भएको देख्नेछ, अनि मेरा कानहरूले मेरो विरोधमा उठ्ने दुष्टहरूको विषयमा मेरो इच्छा पूरा भएको सुन्नेछन्।
12 धर्मी जन खजुरको रूखझैं मौलाउनेछ; ऊ लेबानोनको देवदारझैं बढ़्नेछ।
13 परमप्रभुको भवनमा रोपिएकाहरू हाम्रा परमेश्वरका चोकहरूमा मौलाउनेछन्।
14 बूढ़ा हुँदा पनि उनीहरूले फल फलाउनेछन्; उनीहरू रसले भरिएका र लहलहाउँदा हुनेछन्,
15 परमप्रभु सीधा चालको हुनुहुन्छ भन्ने कुरा प्रकट गर्नका निम्ति; उहाँ मेरा चट्टान हुनुहुन्छ, र उहाँमा कुनै अधर्म नै छैन।