91
जसले परमप्रधानको गुप्त स्थानमा वास गर्छ, ऊ सर्वशक्तिमान्को छायामा रहिरहन्छ।2 म परमप्रभुको विषयमा भन्नेछु: “उहाँ मेरो शरणस्थान र मेरो किल्ला हुनुहुन्छ – मेरा परमेश्वर; उहाँमै म भरोसा राख्नेछु।”
3 निश्चय उहाँले नै तिमीलाई चरा मार्नेको पासोबाट र विनाशकारी महामारीबाट छुटाउनुहुनेछ।
4 उहाँले तिमीलाई आफ्ना प्वाँखहरूले ढाक्नुहुनेछ; र उहाँका पखेटाहरूमुनि तिमीले शरण लिनेछौ; उहाँको सत्यता तिम्रो ढाल र कवच हुनेछ।
5 तिमी न रातको आतङ्कदेखि, न ता दिनमा उड़्ने काँड़देखि नै डराउनेछौ,
6 न अन्धकारमा हिँड़्ने महामारीदेखि, न ता मध्यदिनमै उजाड़ पार्ने विनाशदेखि तिमी डराउनेछौ।
7 हजारजना तिम्रो छेउमा ढल्नेछन्, अनि दस हजार तिम्रो दाहिने हाततिर; तर त्यो तिम्रो नजिक आउनेछैन।
8 तिम्रै आँखाले तिमीले हेर्नेछौ, र दुष्टहरूको नतिजा देख्नेछौ।
9 किनभने तिमीले परमप्रभुलाई, जो मेरा शरणस्थान हुनुहुन्छ, अर्थात् परमप्रधानलाई आफ्नो वासस्थान बनाएका छौ;
10 यसकारण तिमीमाथि कुनै खराबी आइपर्नेछैन, न ता कुनै महामारीक तिम्रो वासस्थानको नजिक आउनेछ।
11 किनकि तिम्रा सबै मार्गहरूमा तिमीलाई रक्षा गरून् भनी तिम्रो विषयमा उहाँले आफ्ना दूतहरूलाई आज्ञा गर्नुहुनेछ।
12 कहीं तिमीले आफ्नो पाउ ढुङ्गामाथि बजार्छौ कि भनी तिनीहरूले तिमीलाई आफ्ना हातहरूमा उठाउनेछन्।
13 तिमीले सिंह र साँभेसाँप कुल्चनेछौ; जवान सिंह र अजिङ्गर तिमीले पाउमुनि कुल्चीमिल्ची पार्नेछौ।
14 किनभने उसले आफ्नो प्रेम ममाथि राखेको छ; यसकारण म उसलाई छुटाउनेछु; म उसलाई उच्च स्थानमा राख्नेछु; किनकि उसले मेरो नाम जानेको छ।
15 उसले मलाई पुकार्नेछ, र म उसलाई जवाफ दिनेछु; सङ्कष्टमा म उसको साथमा हुनेछु; म उसलाई छुटाउनेछु, र उसलाई आदर दिनेछु।
16 म उसलाई दीर्घायुले तृप्त पार्नेछु, र उसलाई मेरो उद्धार देखाउनेछु।