चौथो भाग: भजन ९०-१०६
परमेश्‍वरका जन मोशाको प्रार्थना
90
हे प्रभु, पुस्तादेखि पुस्तासम्म तपाईं हाम्रा वासस्थान हुनुभएको छ।
2 पहाड़हरू उत्‍पन्‍न हुनुभन्दा अघि, अथवा पृथ्वी र संसार तपाईंले सृष्‍टि गर्नुभन्दा अघिदेखि, अनादिदेखि अनन्तसम्म तपाईं नै परमेश्‍वर हुनुहुन्छ।
3 तपाईंले मानिसलाई धूलोमा फर्काइदिनुहुन्छ, र भन्‍नुहुन्‍छ: “हे मानिसका सन्तानहो, फर्क!”
4 किनकि हजार वर्ष त तपाईंको दृष्‍टिमा बितेर गएको हिजोजस्तो मात्र हो, र रातको एक पहरजस्तो हो।
5 बाढ़ले लगेझैं तपाईं तिनीहरूलाई लैजानुहुन्छ; तिनीहरू निद्राजस्तै हुन्; बिहान तिनीहरू बढ़्ने घाँसजस्तै हुन्।
6 बिहान त्यो मौलाउँछ र बढ़्छ; बेलुका त्यो काटिन्छ र ओइलिन्छ।
7 किनकि तपाईंको रिसले हामी नष्‍ट भएका छौं, र तपाईंको क्रोधले हामी विचलित भएका छौं।
8 तपाईंले हाम्रा अधर्महरू आफ्नो सामु राख्‍नुभएको छ, हाम्रा गुप्‍त पापहरू आफ्नो चेहराको उज्यालोमा राख्‍नुभएको छ।
9 किनकि हाम्रा सबै दिनहरू तपाईंकै क्रोधमा बितेका छन्; हामी आफ्ना वर्षहरू सुस्केराझैं बिताउँछौं।
10 हाम्रा आयुका दिनहरू सत्तरी वर्ष हुन्छन्; अनि बलको कारणले अस्सी वर्ष भए तापनि तिनीहरूको बल मेहनत र शोक नै हो; किनकि त्यो चाँड़ै समाप्‍त हुन्छ, र हामी उड़िजान्छौं।
11 तपाईंको रिसको शक्ति कसले जान्दछ? अनि तपाईंको भयअनुसार नै तपाईंको क्रोध हुन्छ।
12 यसकारण हामीलाई आफ्ना दिनहरू गन्‍न सिकाउनुहोस्, र बुद्धिमाथि हामी आफ्नो हृदय लगाउन सकौं!
13 हे परमप्रभु, फर्कनुहोस्, कहिलेसम्म? अनि आफ्ना दासहरूलाई दया देखाउनुहोस्!
14 बिहानै आफ्नो करुणाले हामीलाई तृप्‍त पार्नुहोस्, र हामी आफ्नो जीवनभरि नै रमाउन र आनन्दित हुन सकौं!
15 जति दिन तपाईंले हामीलाई कष्‍ट दिनुभयो, र जति वर्ष हामीले खराबी देख्यौं, त्यहीअनुसार हामीलाई आनन्दित तुल्याउनुहोस्!
16 तपाईंको काम तपाईंका दासहरूकहाँ र तपाईंको महिमा तिनीहरूका सन्तानहरूकहाँ देखा परून्!
17 अनि प्रभु हाम्रा परमेश्‍वरको सुन्दरता हामीमाथि रहोस्; अनि हाम्रा हातहरूको काम हामीमाथि स्थापित गर्नुहोस्; हो, हाम्रा हातहरूको काम स्थापित गर्नुहोस्!