एज्रावंशी एतानको मस्किल
89
परमप्रभुका करुणाहरूको गीत म सदा-सर्वदा गाउनेछु; पुस्ता-पुस्तासम्म म आफ्नो मुखले तपाईंको विश्वासयोग्यता जनाउनेछु।2 किनभने मैले भनेको छु: “करुणा सदा-सर्वदा बनिरहनेछ; तपाईंले आफ्नो विश्वासयोग्यता स्वर्गैमा स्थिर राख्नुहुनेछ।”
3 मैले आफ्नो चुनेको जनसँग वाचा बाँधेको छु; मैले आफ्नो दास दाऊदसँग शपथ खाएको छु:
4 “तिम्रो वंशलाई म सदा-सर्वदा स्थिर राख्नेछु, र तिम्रो सिंहासन पुस्ता-पुस्तासम्म बनाइराख्नेछु।” सेला#
5 हे परमप्रभु, स्वर्गले तपाईंका अचम्मका कामहरू र तपाईंको विश्वासयोग्यताको प्रशंसा पवित्र जनहरूको सभामा गर्नेछ।
6 किनकि स्वर्गमा परमप्रभुको तुलना कोसँग हुन सक्छ र? शक्तिशालीहरूका सन्तानको बीचमा को परमप्रभुसँग समान हुन सक्छ र?
7 पवित्र जनहरूको सभामा परमेश्वरको डर साह्रै मान्नुपर्छ; अनि उहाँको वरिपरि हुनेहरू सबैद्वारा उहाँको भक्ति हुनुपर्छ।
8 हे परमप्रभु सेनाहरूका परमेश्वर, तपाईंजस्तो सामर्थी याह अरू को छ र? अनि तपाईंको विश्वासयोग्यता तपाईंको वरिपरि छ।
9 समुद्रको प्रचण्डतामाथि तपाईं नै शासन गर्नुहुन्छ; जब त्यसका छालहरू उर्लन्छन्, तब तपाईंले नै तिनलाई शान्त पार्नुहुन्छ।
10 तपाईंले नै रहबलाईक मारिएकोलाई झैं गरी टुक्रा-टुक्रा पार्नुभयो; तपाईंले आफ्ना शत्रुहरूलाई आफ्नो बलियो पाखुराले तितरबितर पार्नुभयो।
11 आकाश तपाईंको हो, पृथ्वी पनि तपाईंकै हो; संसार र यसको भरपूरी तपाईंले नै स्थापित गर्नुभएको हो।
12 उत्तर र दक्षिण तपाईंले नै सृष्टि गर्नुभएको हो; ताबोर र हेर्मोन तपाईंको नाममा रमाउनेछन्।
13 तपाईंको सामर्थी पाखुरा छ, तपाईंको हात बलियो छ र तपाईंको दाहिने हात उच्च छ।
14 धार्मिकता र न्याय तपाईंको सिंहासनको जग हुन्; करुणा र सत्यता तपाईंको अघि-अघि जानेछन्।
15 धन्य हुन् ती मानिसहरू, जसले आनन्दको जयजयकार जान्दछन्; हे परमप्रभु, उनीहरू तपाईंको चेहराको ज्योतिमा हिँड़्नेछन्।
16 उनीहरू दिनभरि तपाईंकै नाममा रमाउनेछन्; अनि तपाईंकै धार्मिकतामा उनीहरू उच्च पारिनेछन्।
17 किनभने तपाईं उनीहरूको बलको महिमा हुनुहुन्छ; अनि तपाईंकै कृपादृष्टिमा हाम्रो सिङ उच्च पारिनेछ।
18 किनकि परमप्रभु हाम्रा रक्षक हुनुहुन्छ; अनि इस्राएलका पवित्र जन हाम्रा राजा हुनुहुन्छ।
19 तब तपाईंले आफ्नो पवित्र जनसँग दर्शनमा बोल्नुभयो, र भन्नुभयो: “मैले एकजना शक्तिशालीमाथि सहायता राखेको छु; मैले मानिसहरूको बीचबाट चुनिएकोलाई उच्च पारेको छु।
20 मैले आफ्नो दास दाऊदलाई भेट्टाएको छु; मैले आफ्नो पवित्र तेलले उनलाई अभिषेक गरेको छु।
21 उनीसँग मेरो हात स्थापित हुनेछ; मेरो पाखुराले पनि उनलाई बलियो पार्नेछ।
22 शत्रुले उनलाई धुत्नेछैन, न ता दुष्टताको सन्तानले उनलाई कष्ट दिनेछ।
23 अनि म उनका शत्रुहरूलाई उनकै सामु कुल्चीमिल्ची पार्नेछु र उनलाई घृणा गर्नेहरूमाथि विपत्ति ल्याउनेछु।
24 तर मेरो विश्वासयोग्यता र मेरो करुणा उनीसँग रहनेछन्, र मेरो नाममा उनको सिङ उच्च पारिनेछ।
25 अनि म उनको हात पनि समुद्रमा र उनको दाहिने हातचाहिँ नदीहरूमा राख्नेछु।
26 उनले मलाई पुकार्नेछन्: ‘तपाईं मेरा पिता, मेरा परमेश्वर र मेरो उद्धारको चट्टान हुनुहुन्छ।’
27 हो, म उनलाई पृथ्वीका राजाहरूभन्दा उच्च मेरो जेठा तुल्याउनेछु।
28 म आफ्नो करुणा उनका निम्ति सदा-सर्वदा राख्नेछु, र मेरो वाचा उनीसित अटल रहनेछ।
29 म उनको वंशलाई पनि सदा-सर्वदा बनाइराख्नेछु, र उनको सिंहासन स्वर्गका दिनहरूसमान तुल्याउनेछु।
30 उनका सन्तानहरूले मेरो व्यवस्था त्यागे र मेरा नियमहरूमा हिँड़ेनन् भने,
31 उनीहरूले मेरा विधिहरू भङ्ग गरे र मेरा आज्ञाहरू पालन गरेनन् भने,
32 म उनीहरूका अपराधको दण्ड छड़ीले र उनीहरूको अधर्मको दण्ड कोर्राले दिनेछु।
33 तरै पनि म आफ्नो करुणा उनीबाट पूरा रीतिले हटाउनेछैनँ, न ता मेरो विश्वासयोग्यता नै चुक्न दिनेछु।
34 म आफ्नो वाचा भङ्ग गर्नेछैनँ, न ता मेरा ओठहरूबाट निस्केको वचन बदली गर्नेछु।
35 एकचोटि मैले मेरो पवित्रताको शपथ खाइसकेको छु – म दाऊदलाई ढाँट्नेछैनँ।
36 उनको वंश सदा-सर्वदा रहनेछ, र उनको सिंहासनचाहिँ मेरो अघि सूर्यझैं बनिरहनेछ।
37 योचाहिँ चन्द्रमाझैं सदाका निम्ति स्थापित हुनेछ र आकाशमा विश्वासयोग्य साक्षीझैं बनिरहनेछ।” सेला#
38 तर तपाईंले त्याग्नुभएको र घृणा गर्नुभएको छ; तपाईं आफ्नो अभिषिक्त जनसँग क्रोधित हुनुभएको छ।
39 तपाईंले आफ्नो दासको वाचा रद्द गर्नुभएको छ; उनको मुकुट भुइँमा फ्याँकेर त्यसलाई अपवित्र पार्नुभएको छ।
40 तपाईंले उनका सबै बारहरू भत्काउनुभएको छ; तपाईंले उनका किल्लाहरू ध्वंस पार्नुभएको छ।
41 त्यहाँबाट भएर जाने सबैले उनलाई लुट्छन्; आफ्ना छिमेकीहरूका निम्ति उनी निन्दाको पात्र भएका छन्।
42 तपाईंले उनका विरोधीहरूको दाहिने हात उच्च पार्नुभएको छ; तपाईंले उनका सबै शत्रुहरूलाई आनन्दित तुल्याउनुभएको छ।
43 अनि तपाईंले उनको तरवारको धार बोधो पार्नुभएको छ र उनलाई लड़ाइँमा खड़ा हुने तुल्याउनुभएको छैन।
44 तपाईंले उनको महिमा रोक्नुभएकोख छ र उनको सिंहासन भुइँमा फ्याँकिदिनुभएको छ।
45 तपाईंले उनको जवानीका दिनहरू छोटो पारिदिनुभएको छ; तपाईंले उनलाई शर्मले ढाकिदिनुभएको छ। सेला#
46 हे परमप्रभु, कहिलेसम्म? के तपाईंले आफूलाई सदा-सर्वदा लुकाउनुहुनेछ? के तपाईंको क्रोध आगोझैं जल्नेछ?
47 मेरो आयु कति छोटो छ, सो सम्झनुहोस्; तपाईंले सबै मानिसहरूलाई किन व्यर्थैमा सृष्टि गर्नुभयो?
48 कुन मानिस जीवित रहन्छ, र मृत्यु देख्दैन? के अधोलोकको हातबाट उसले आफ्नो प्राणलाई बचाउला? सेला#
49 हे प्रभु, तपाईंका पहिलेका करुणाहरू कहाँ छन्, जसको विषयमा तपाईंले दाऊदसँग आफ्नो सत्यतामाग शपथ खानुभएको थियो?
50 हे प्रभु, तपाईंका दासहरूको निन्दा सम्झना गर्नुहोस्; म कसरी यी सबैघ जाति-जातिका मानिसहरूको निन्दा आफ्नो छातीमा सहँदैछु,
51 जुन निन्दाले हे परमप्रभु, तपाईंका शत्रुहरूले निन्दा गरेका छन्, जुन निन्दाले तिनीहरूले तपाईंका अभिषिक्त जनका पाइलाहरूको निन्दा गरेका छन्।
52 परमप्रभु सदा-सर्वदा धन्यका होऊन्! आमेन, र आमेन!