प्रधान वादकका लागि; कोरहवंशीहरूको गीत अर्थात् भजन; ‘माहालत् लेअन्‍नोथ’-रागमा; एज्रावंशी हेमानको मस्किल
88
हे परमप्रभु, मेरा उद्धारका परमेश्‍वर, दिनरात मैले तपाईंको सामु दुहाई गरेको छु;
2 मेरो प्रार्थना तपाईंको सामु पुगोस्; मेरो पुकारतिर आफ्नो कान लगाउनुहोस्!
3 किनकि मेरो प्राण कष्‍टहरूले भरिएको छ र मेरो जीवन चिहानको नजिकै आइपुगेको छ।
4 खाड़लभित्र जानेहरूसँग म गनिएको छु; म बलहीन मानिसजस्तो भएको छु;
5 मरेकाहरूको बीचमा फुक्‍का, मारिएकाहरूजस्तो, जो चिहानमा पड़िरहेका छन्, जसलाई तपाईंले फेरि कहिल्यै सम्झना गर्नुहुन्‍न; अनि तिनीहरू तपाईंको हातबाट अलग गरिएका छन्।
6 तपाईंले मलाई सबैभन्दा तल्‍लो खाड़लमा, अन्धकारमा, गहिरा ठाउँहरूमा राख्‍नुभएको छ।
7 तपाईंको क्रोध साह्रो गरी ममाथि परेको छ; अनि तपाईंले आफ्ना सबै छालहरूले मलाई कष्‍ट दिनुभएको छ। सेला#
8 तपाईंले मेरा चिनारुहरूलाई मदेखि टाढ़ा राख्‍नुभएको छ; तपाईंले मलाई तिनीहरूको दृष्‍टिमा घृणित तुल्याउनुभएको छ; म थुनिएको छु, र म बाहिर आउन सक्दिनँ।
9 कष्‍टको कारणले मेरो आँखाले विलाप गर्दछ; हे परमप्रभु, दिनहुँ मैले तपाईंलाई पुकारेको छु; तपाईंतिर मैले आफ्ना हातहरू फैलाएको छु।
10 के मरेकाहरूलाई तपाईं अचम्मका कामहरू देखाउनुहुन्छ? के मेरकाहरूले उठेर तपाईंको प्रशंसा गर्लान् र? सेला#
11 के चिहानमा तपाईंको करुणाको अथवा विनाशमा तपाईंको विश्‍वासयोग्यताको घोषणा गरिन्छ होला र?
12 के अन्धकारमा तपाईंका अचम्मका कामहरू र विस्मृतिको देशमा तपाईंको धार्मिकता जानिएलान् र?
13 तर हे परमप्रभु, मैले तपाईंलाई पुकारेको छु; अनि बिहानै मेरो प्रार्थनाले तपाईंलाई भेटिहाल्नेछ।
14 हे परमप्रभु, तपाईं किन मेरो प्राणलाई फाल्नुहुन्छ? तपाईं किन आफ्नो चेहरा मबाट लुकाउनुहुन्छ?
15 म कष्‍टमा परेको छु र बालककालदेखि नै मर्न लागेको छु; तपाईंका आतङ्कहरू सहँदा-सहँदै म व्याकुल हुन्छु।
16 तपाईंको जल्दो क्रोध ममाथि पर्छ; तपाईंका आतङ्कहरूले मलाई नष्‍ट पारेका छन्।
17 दिनहुँ तिनीहरूले मलाई पानीले झैं घेरे; तिनीहरूले मलाई चारैतिरबाट एकसाथ घेरा हाले।
18 तपाईंले प्रेमी र मित्रलाई मदेखि टाढ़ामा, र मेरा चिनारुहरूलाई अन्धकारमा राख्‍नुभएको छ।