दाऊदको प्रार्थना
86
हे परमप्रभु, आफ्नो कान लगाउनुहोस्, मेरो विन्ती सुन्नुहोस्; किनकि म दुःखी र खाँचोमा परेको छु।2 मेरो प्राणलाई सुरक्षित राख्नुहोस्; किनकि म पवित्र छुक; हे तपाईं मेरा परमेश्वर, आफ्नो दासलाई बचाउनुहोस्, जसले तपाईंमाथि भरोसा राख्छ।
3 हे प्रभु, मप्रति कृपालु हुनुहोस्; किनकि म दिनभरि तपाईंलाई पुकार्छु।
4 आफ्नो दासको प्राणलाई हर्षित तुल्याउनुहोस्; किनकि हे प्रभु, तपाईंतिर नै म आफ्नो मन उठाउँछु।
5 किनभने हे प्रभु, तपाईं भला हुनुहुन्छ र क्षमा गर्न तयार हुनुहुन्छ; अनि तपाईंलाई पुकार गर्नेहरू सबैप्रति तपाईं करुणामा धनवान् हुनुहुन्छ।
6 हे परमप्रभु, मेरो प्रार्थनातिर कान लगाउनुहोस्; मेरा विन्तीहरूको स्वर ध्यानसित सुन्नुहोस्!
7 मेरो सङ्कष्टको दिनमा म तपाईंलाई पुकार्नेछु; किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ।
8 हे प्रभु, ईश्वरहरूमध्ये तपाईंजस्तो कोही छैन; न ता तपाईंका कामहरूजस्ता अरू कुनै काम छन्।
9 हे प्रभु, सबै जातिहरू, जसलाई तपाईंले बनाउनुभएको हो, आउनेछन् र तपाईंको सामु दण्डवत् गर्नेछन्, अनि तपाईंको नामको महिमा गर्नेछन्।
10 किनभने तपाईं महान् हुनुहुन्छ, र अचम्मका कामहरू गर्नुहुन्छ; तपाईं मात्र परमेश्वर हुनुहुन्छ।
11 हे परमप्रभु, मलाई तपाईंको बाटो सिकाउनुहोस्; म तपाईंको सत्यतामा हिँड़्नेछु; तपाईंको नामको डर मान्नलाई मेरो हृदय एकाग्र पार्नुहोस्!
12 हे प्रभु मेरा परमेश्वर, मेरो सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु, र सदा-सर्वदा तपाईंको नामको महिमा गर्नेछु।
13 किनकि मप्रति तपाईंको करुणा महान् छ; किनकि तपाईंले मेरो प्राणलाई सबैभन्दा तल्लो अधोलोकदेखि छुटाउनुभएको छ।
14 हे परमेश्वर, घमण्डीहरू मेरो विरोधमा उठेका छन्, र अत्याचारीहरूको झुण्डले मेरो प्राण लिन खोजेको छ; अनि तिनीहरूले तपाईंलाई आफ्ना सामु राखेका छैनन्।
15 तर हे प्रभु, तपाईं दयालु र अनुग्रही परमेश्वर हुनुहुन्छ; रिसाउनमा ढिलो अनि करुणा र सत्यताले परिपूर्ण हुनुहुन्छ।
16 मतिर फर्कनुहोस् र ममाथि कृपा गर्नुहोस्; आफ्नो दासलाई तपाईंको बल दिनुहोस् र आफ्नी दासीको छोरालाई बचाउनुहोस्!
17 मलाई भलाइको एउटा चिन्ह देखाउनुहोस्; र मलाई घृणा गर्नेहरूले सो देखून्, र लज्जित होऊन्; किनभने हे परमप्रभु, तपाईंले मलाई सहायता गर्नुभएको छ र मलाई सान्त्वना दिनुभएको छ।