प्रधान वादकका लागि; कोरहवंशीहरूको भजन
85
हे परमप्रभु, तपाईं आफ्नो देशप्रति कृपालु बन्नुभएको छ; तपाईंले याकूबलाई कैदबाट फर्काएर ल्याउनुभएको छ।2 तपाईंले आफ्नो प्रजाको अधर्म क्षमा गर्नुभएको छ; तपाईंले उनीहरूका सबै पापहरू ढाक्नुभएको छ। सेला#
3 तपाईंले आफ्नो सबै क्रोध हटाउनुभएको छ; तपाईं आफ्नो रिसको प्रचण्डताबाट फर्कनुभएको छ।
4 हे हाम्रा उद्धारका परमेश्वर, हामीलाई फर्काउनुहोस्, र हामीप्रति भएको तपाईंको रिस थाम्नुहोस्!
5 के तपाईं हामीसित सदा-सर्वदा रिसाउनुहुन्छ? के तपाईं पुस्ता-पुस्तासम्म आफ्नो रिस बढ़ाउनुहुन्छ?
6 तपाईंको प्रजाले तपाईंमा रमाउन पाऊन् भनेर के तपाईं हामीलाई पुनर्जीवित पार्नुहुन्न र?
7 हे परमप्रभु, हामीलाई तपाईंको करुणा देखाउनुहोस्, र हामीलाई तपाईंको उद्धार दिनुहोस्!
8 परमप्रभु परमेश्वरले जे बोल्नुहुनेछ, सो म सुन्नेछु; किनकि उहाँले आफ्नो प्रजा र आफ्ना पवित्र जनहरूसित शान्तिको वचन बोल्नुहुनेछ; तर उनीहरू मूर्खतातिर नफर्कून्।
9 निश्चय नै उहाँको उद्धार उहाँको डर मान्नेहरूको नजिकैमा छ; फलस्वरूप हाम्रो देशमा महिमाले वास गरोस्।
10 करुणा र सत्यता आपसमा मिलेका छन्; धार्मिकता र शान्तिले एक-अर्कालाई चुम्बन गरेका छन्।
11 पृथ्वीदेखि सत्यता उम्रेर निस्कनेछ, र धार्मिकताले चाहिँ स्वर्गबाट तल हेर्नेछ।
12 हो, जे असल छ, परमप्रभुले त्यही दिनुहुनेछ; अनि हाम्रो जमिनले आफ्नो उब्जनी दिनेछ।
13 धार्मिकता उहाँको अघि-अघि जानेछ र हामीलाई उहाँका पाइलाहरूको बाटोमा लगाउनेछ।