आसाफको गीत अर्थात् भजन
83
हे परमेश्‍वर, तपाईं चुप नलाग्‍नुहोस्; हे परमेश्‍वर, चुपचापसित नबस्‍नुहोस् र शान्त नरहनुहोस्!
2 किनकि हेर्नुहोस्, तपाईंका शत्रुहरू हूलदङ्गा मच्‍चाउँछन्, अनि तपाईंलाई घृणा गर्नेहरूले शिर उठाएका छन्।
3 तिनीहरूले तपाईंको प्रजाको विरोधमा छलपूर्ण सल्‍लाह गरेका छन् र तपाईंका गुप्‍तमा राखिएकाहरूको विरोधमा मतो गरेका छन्।
4 तिनीहरूले भनेका छन्: “आओ, एउटा राष्‍ट्र हुन नदिने गरी हामी तिनीहरूलाई काटिदिऔं; र इस्राएलको नाम फेरि कहिल्यै सम्झनामा नआओस्!”
5 किनकि तिनीहरूले एकै मनको भएर तिनीहरूले मतो गरेका छन्; तिनीहरूले तपाईंको विरोधमा सम्मिलित मोर्चा बाँधेका छन्;
6 एदोमी, इश्माएली, मोआबी र हागारीका तम्बूहरू;
7 गबाली, अम्मोनी, अमालेकी र टायरका बासिन्दाहरूसहित पलिस्तीहरू;
8 अस्सुर पनि तिनीहरूसँग मिलेको छ; तिनीहरू लूतका सन्तानका निम्ति सहायता बनेका छन्। सेला#
9 तिनीहरूलाई मिद्यानीहरूलाई झैं, किशोन खोलामा सीसरालाई र याबीनलाई गरेझैं गर्नुहोस्,
10 जो एन्‌-डोरमा नष्‍ट भए; तिनीहरू जमिनका लागि मल भए।
11 तिनीहरूका भारदारहरूलाई ओरेब र जीबलाईजस्तै बनाउनुहोस्; अँ, तिनीहरूका सबै राजकुमारहरूलाई चाहिँ जेबह र सल्मुन्‍नालाई जस्तै,
12 जसले भने: “आओ, हामी परमेश्‍वरका घरहरू आफ्नो अधिकारमा पारौं!”
13 हे मेरा परमेश्‍वर, तिनीहरूलाई भुमरीको धूलोजस्तो, बतासको सामु परेको भूसजस्तो बनाउनुहोस्!
14 जसरी आगोले बन जलाउँछ, र जसरी ज्वालाले पहाड़हरू सल्काउँछ,
15 त्यसरी नै आफ्नो आँधीले तिनीहरूलाई खेदो गर्नुहोस् र आफ्नो आँधीबेहरीले तिनीहरूलाई भयभीत पार्नुहोस्!
16 तिनीहरूका अनुहारहरू शर्मले भरिदिनुहोस्; र हे परमप्रभु, तिनीहरूले तपाईंको नामको खोजी गरून्।
17 तिनीहरू सदाका निम्ति लज्जित र विचलित होऊन्; अँ, तिनीहरू शर्ममा परून् र नष्‍ट होऊन्;
18 र तपाईं, जसको नाम मात्र ‘यहोवा’ हो, सम्पूर्ण पृथ्वीमाथि परमप्रधान हुनुहुन्छ भनी मानिसहरूले जानून्।