प्रधान वादकका लागि; ‘गित्तिथ’ नामक वीणामाथि; आसाफको भजन
81
परमेश्‍वर हाम्रा बलका निम्ति जोरसँग गाओ; याकूबका परमेश्‍वरका निम्ति आनन्दको सोर निकाल!
2 भजन गाओ; खैंचड़ी, साथै सितार र मीठो बज्‍ने वीणा यहाँ ल्याओ!
3 औंसीमा, तोकिएको समयमा, हाम्रो चाड़को दिनमा तुरही बजाओ!
4 किनकि यो इस्राएलका निम्ति एउटा विधि र याकूबका परमेश्‍वरको व्यवस्था हो।
5 यो उहाँले मिस्र देशबाट भएर जानुहुँदा साक्षीका निम्ति यूसुफमा ठहराउनुभयो, जहाँ मैले एउटा भाषा सुनें, जसलाई मैले बुझिनँ।
6 मैले उसको काँध भारीबाट हटाएँ, उसका हातहरू टोकरीहरूबाट छुटाएँ।
7 सङ्कष्‍टमा तिमीले पुकार्‍यौ, र मैले तिमीलाई छुटाएँ; गर्जनको गुप्‍त स्थानबाट मैले तिमीलाई जवाफ दिएँ; मरीबाको पानीमा मैले तिमीलाई जाँचें। सेला#
8 हे मेरो प्रजा, सुन; तिम्रो विषयमा म साक्षी दिनेछु; हे इस्राएल, तिमीले मेरो कुरा सुन्‍न चाहन्छौ भने
9 तिम्रो मध्येमा कुनै पराई देवता हुनुहुँदैन; तिमीले कुनै पराई देवतालाई दण्‍डवत्‌ गर्नुहुँदैन।
10 म परमप्रभु तिम्रा परमेश्‍वर हुँ, जसले तिमीलाई मिस्र देशबाट निकालेर ल्यायो; आफ्नो मुख पूरा खोल, र म त्यो भरिदिनेछु।
11 तर मेरो प्रजाले मेरो आवाज सुन्‍न चाहेन, र इस्राएलले मलाई चाहँदै चाहेन। 12 यसकारण मैले उनीहरूलाई उनीहरूकै हृदयको अभिलाषामा छोड़िदिएँ; र उनीहरू आफ्नै सल्‍लाहहरूअनुसार हिँड़े।
13 मेरो प्रजाले मेरो कुरा सुनेको भए त! इस्राएल मेरा मार्गहरूमा हिँड़ेको भए त!
14 चाँड़ै म उनीहरूका शत्रुहरूलाई दबाउनेथिएँ र उनीहरूका विरोधीहरूको विरोधमा मेरो हात उठाउनेथिएँ!
15 परमप्रभुलाई घृणा गर्नेहरूले आफूलाई उहाँकै अधीनतामा सुम्पिनेथिए; तर उनीहरूको समय सदा-सर्वदा रहिरहनेथियो!
16 र उहाँले उनीहरूलाई सबैभन्दा उत्तम गहुँ खुवाउनुहुनेथियो; अनि चट्टानबाटको महले म तिमीलाई तृप्‍त पार्नेथिएँ।