प्रधान वादकका लागि; ‘शोशन्‍निम एदूथ’ -रागमा; आसाफको भजन
80
हे इस्राएलका गोठाला, तपाईं जसले यूसुफलाई भेड़ाबाख्राको बगाललाई झैं डोर्‍याउनुहुन्छ, कान लगाउनुहोस्; तपाईं, जो करूबहरूको बीचमा बस्‍नुहुन्छ, चम्कनुहोस्!
2 एप्रैम, बिन्यामीन र मनस्सेको सामु आफ्नो बल जगाउनुहोस्, अनि आउनुहोस् र हामीलाई बचाउनुहोस्!
3 हे परमेश्‍वर, हामीलाई फर्काउनुहोस्, अनि आफ्नो चेहरा चम्काउनुहोस्; र हामी बचाइनेछौं।
4 हे सेनाहरूका परमेश्‍वर परमप्रभु, आफ्ना जनहरूको प्रार्थनाको विरोधमा तपाईं कहिलेसम्म रिसाउनुहुन्छ?
5 तपाईंले उनीहरूलाई आँसुको रोटी खुवाउनुहुन्छ र उनीहरूलाई पिउन भनी धेरै मात्रामा आँसु दिनुहुन्छ।
6 तपाईंले हामीलाई हाम्रा छिमेकीहरूका निम्ति झगड़ाको कारण तुल्याउनुहुन्छ; अनि हाम्रा शत्रुहरू आपसमा खिसी गरेर हाँस्छन्।
7 हे सेनाहरूका परमेश्‍वर, हामीलाई फर्काउनुहोस् र आफ्नो चेहरा चम्काउनुहोस्; र हामी बचाइनेछौं।
8 तपाईंले मिस्र देशबाट एउटा दाखको बोट ल्याउनुभयो; तपाईंले अन्यजातिहरूलाई निकाल्नुभयो र यसलाई रोप्‍नुभयो।
9 तपाईंले यसको सामु ठाउँ तयार पार्नुभयो र यसलाई गहिरो जरा हाल्न लाउनुभयो; अनि यसले देशलाई भरिदियो।
10 यसको छायाले पहाड़हरू ढाकिए, र यसका हाँगाहरू ठूला-ठूला देवदारझैं भए।
11 यसले आफ्ना हाँगाहरू समुद्रसम्म र आफ्ना बिँगाहरू नदीसम्म फैलायो।
12 तब तपाईंले किन यसका बारहरू भत्काइदिनुभयो; यसैले त्यहाँबाट भएर जानेहरू सबैले यसलाई टिप्छन्?
13 जङ्गलबाटको बँदेलले यसलाई उजाड़ पार्छ, र मैदानको जङ्गली पशुले यसलाई निल्छ।
14 हे सेनाहरूका परमेश्‍वर, हामी तपाईंलाई विन्‍ती गर्छौं: फर्कनुहोस्, स्वर्गबाट तलतिर नजर लाएर हेर्नुहोस्, अनि यस दाखको बोटको सुधि लिनुहोस्;
15 अनि यस दाखबारीको, जसलाई तपाईंको दाहिने हातले रोपेको छ, र यस हाँगाको, जसलाई तपाईंले आफ्नै निम्ति बलियो पार्नुभयो।
16 यो आगोले जल्यो, यो काटियो; तपाईंको चेहराको हप्कीले ती नष्‍ट हुन्छन्।
17 तपाईंको हात तपाईंको दाहिने हातको मानिसमाथि रहोस् – त्यस मानिसको सन्तानमाथि, जसलाई तपाईंले आफ्नै निम्ति बलियो पार्नुभयो।
18 तब हामी तपाईंबाट पछि हट्नेछैनौं; हामीलाई पुनर्जीवित पार्नुहोस्, र हामीले तपाईंको नाम पुकार्नेछौं।
19 हे सेनाहरूका परमेश्‍वर परमप्रभु, हामीलाई फर्काउनुहोस्, आफ्नो चेहरा चम्काउनुहोस्; र हामी बचाइनेछौं।