आसाफको भजन
79
हे परमेश्वर, अन्यजातिहरू तपाईंको अधिकारको भागभित्र पसेका छन्; तिनीहरूले तपाईंको पवित्र मन्दिरलाई अशुद्ध पारेका छन्; तिनीहरूले यरूशलेमलाई ध्वस्त पारेर थुप्राहरू लाएका छन्।2 तिनीहरूले तपाईंका दासहरूका लाशहरू आकाशका पक्षीहरूलाई र तपाईंका पवित्र जनहरूको मासुचाहिँ पृथ्वीका पशुहरूलाई आहारको रूपमा दिएका छन्।
3 तिनीहरूले उनीहरूको रगत यरूशलेमको चारैतिर पानीझैं बगाएका छन्, र उनीहरूलाई गाड़्ने कोही भएन।
4 हाम्रा छिमेकीहरूका निम्ति हामी निन्दाको कारण भएका छौं; हाम्रा चारैतिर रहनेहरूका निम्ति हामी गिल्ला र ठट्टाका पात्र भएका छौं।
5 हे परमप्रभु, कहिलेसम्म? के तपाईं सधैंभरि रिसाउनुहुन्छ? के तपाईंको डाहा आगोझैं जल्नेछ?
6 आफ्नो क्रोध तपाईंलाई नचिन्ने अन्यजातिहरूमाथि र तपाईंको नाम नलिने राज्यहरूमाथि खन्याउनुहोस्!
7 किनकि तिनीहरूले याकूबलाई निलेका छन् र उनको वासस्थान उजाड़ पारेका छन्।
8 हाम्रा विरोधमा हाम्रा अघिका अधर्महरू नसम्झनुहोस्; तपाईंका कोमल कृपाहरूले हामीलाई चाँड़ै भेटून्; किनकि हामी साह्रै होच्याइएका छौं।
9 हे हाम्रा उद्धारका परमेश्वर, आफ्नो नामको महिमाको खातिर हामीलाई सहायता गर्नुहोस्, आफ्नो नामको खातिर हामीलाई छुटाउनुहोस् र हाम्रा पापहरू ढाकिदिनुहोस्!
10 अन्यजातिहरूले किन भनून्: “खोइ, तिनीहरूको परमेश्वर कहाँ छ?” तपाईंका दासहरूको बगाइएको रगतको बदला लिएको कारणले उहाँ हाम्रो दृष्टिमा अन्यजातिहरूको बीचमा चिनिऊन्।
11 कैदीको सुस्केरा तपाईंको सामु पुगोस्; तपाईंको सामर्थ्यको महान्ताअनुसार मर्नका निम्ति ठहराइएकाहरूलाई जोगाउनुहोस्;
12 अनि हे प्रभु, जुन निन्दाले हाम्रा छिमेकीहरूले तपाईंको अपमान गरेका छन्, त्यही तिनीहरूको निन्दा तिनीहरूको छातीमा सात गुणा बेसी फर्काइदिनुहोस्!
13 यसकारण हामी, तपाईंका जनहरू र तपाईंका खर्कका भेड़ाहरू सदा-सर्वदा तपाईंलाई धन्यवाद चढ़ाउनेछौं; पुस्ता-पुस्तासम्म हामीले तपाईंको प्रशंसा गर्नेछौं।