आसाफको मस्किल
78
हे मेरा जनहरूहो, मेरो व्यवस्थातिर कान थाप; मेरो मुखका वचनहरूतिर आफ्ना कान लगाओ!
2 म मेरो मुख दृष्‍टान्‍तमा खोल्नेछु; प्राचीनकालका पहेलीहरू म भन्‍नेछु;
3 जुनचाहिँ हामीले सुनेका र जानेका छौं, अनि हाम्रा पितापुर्खाहरूले हामीलाई बताएका छन्।
4 हामी यी कुराहरू उनीहरूका सन्तानबाट लुकाउनेछैनौं, आउँदो पुस्तालाई परमप्रभुका प्रशंसाहरू, उहाँको सामर्थ्य र उहाँले गर्नुभएका उहाँका अचम्मका कामहरूको वर्णन गर्नेछौं।
5 किनकि उहाँले याकूबमा एउटा साक्षी खड़ा गर्नुभयो र इस्राएलमा एउटा व्यवस्था नियुक्त गर्नुभयो, जसको विषयमा यी कुराहरू हाम्रा पितापुर्खाहरूले आफ्ना सन्तानलाई जनाऊन् भनी उहाँले उनीहरूलाई आज्ञा गर्नुभयो;
6 यसैले कि आउँदो पुस्ताले अर्थात् अझै जन्मने सन्तानहरूले यी जानून्, र खड़ा भएर तिनीहरूका सन्तानलाई बताऊन्;
7 र तिनीहरूले चाहिँ परमेश्‍वरमाथि आफ्नो भरोसा राखून् र परमेश्‍वरका कामहरू नबिर्सून्, तर उहाँका आज्ञाहरू पालन गरून्;
8 र तिनीहरूचाहिँ आफ्ना पितापुर्खाहरूझैं हठी र विद्रोही पुस्ता नबनून् – जो यस्तो पुस्ता थियो, जसले आफ्नो हृदय ठीक राखेन र जसको आत्मा परमेश्‍वरप्रति विश्‍वासयोग्य रहेन।
9 एप्रैमका सन्तानहरू हतियार भिर्नेहरू र धनु बोक्नेहरू थिए, तापनि लड़ाइँको दिनमा तिनीहरू पछि फर्के।
10 तिनीहरूले परमेश्‍वरको वाचा पालन गरेनन् र उहाँको व्यवस्थाअनुसार हिँड़्न इन्कार गरे;
11 र तिनीहरूले उहाँका कामहरू र उहाँले तिनीहरूलाई देखाउनुभएका उहाँका अचम्मका कामहरू बिर्से।
12 मिस्र देशमा उहाँले तिनीहरूका पितापुर्खाहरूका आँखाको सामु सोअनको मैदानमा अचम्मका कामहरू गर्नुभयो।
13 उहाँले समुद्रलाई दुई भाग पार्नुभयो र उनीहरूलाई पार गराउनुभयो; अनि उहाँले पानीलाई रास पारेझैं खड़ा गर्नुभयो;
14 अनि दिनमा पनि उहाँले उनीहरूलाई बादलले र रातभरि आगोको उज्यालोले डोर्‍याउनुभयो।
15 उजाड़स्थानमा उहाँले चट्टानहरू फोर्नुभयो र गहिरा सागरहरूबाट झैं गरी उनीहरूलाई पानी पिउन दिनुभयो।
16 अनि उहाँले चट्टानबाट खोलाहरू निकाल्नुभयो र नदीहरूझैं पानी बगाउनुभयो।
17 तरै पनि उजाड़स्थानमा परमप्रधानलाई रिस उठाएर उनीहरूले उहाँको विरोधमा झन् बढ़ी पाप गरे।
18 अनि आफ्नो अभिलाषाका निम्ति खानेकुरा मागेर उनीहरूले आफ्नो हृदयमा परमेश्‍वरलाई परीक्षा गरे।
19 हो, उनीहरूले परमेश्‍वरको विरोधमा बोले; उनीहरूले भने: “के परमेश्‍वरले उजाड़स्थानमा टेबल सजाउन सक्नुहुन्छ?
20 हेर, उहाँले चट्टानलाई हिर्काउनुभयो, र पानी फुटेर निस्क्यो, र खोलाहरू बढ़ेर आए; के उहाँले रोटी पनि दिन सक्नुहुन्छ? के उहाँले आफ्ना जनहरूका निम्ति मासु जुटाउन सक्नुहुन्छ?”
21 यसैकारण जब परमप्रभुले यो सुन्‍नुभयो, तब उहाँ क्रोधित हुनुभयो, र याकूबको विरोधमा आगो सल्क्यो, अनि इस्राएलको विरोधमा क्रोध पनि दन्क्यो;
22 किनकि उनीहरूले परमेश्‍वरमा विश्‍वास गरेनन्, र उहाँको उद्धारमा भरोसा परेनन्,
23 यद्यपि उहाँले माथिबाट बादलहरूलाई हुकुम गर्नुभएको थियो, र स्वर्गका ढोकाहरू खोल्नुभएको थियो;
24 र खानका निम्ति उनीहरूमाथि मन्‍ना बर्साउनुभएको थियो, र उनीहरूलाई स्वर्गको रोटी दिनुभएको थियो।
25 मानिसले स्वर्गदूतहरूको भोजन खायो; उहाँले उनीहरूलाई प्रशस्त खानेकुरा पठाइदिनुभयो।
26 आकाशमा उहाँले पूर्वीय हावा बहाउनुभयो; अनि आफ्नो शक्तिद्वारा उहाँले दक्षिणी हावा ल्याउनुभयो।
27 अनि उहाँले उनीहरूमाथि धूलासरह मासु र समुद्रको बालुवाझैं पखेटादार पक्षीहरू बर्साउनुभयो;
28 अनि उहाँले यी पक्षीहरू उनीहरूको छाउनीको बीचमा, उनीहरूका वासस्थानहरूको वरिपरि झार्नुभयो।
29 तब उनीहरूले खाए, र तृप्‍त भए; किनकि उहाँले उनीहरूलाई उनीहरूको लालसाअनुसार दिनुभयो।
30 उनीहरू आफ्नो लालसाबाट अलग भएनन्; तर उनीहरूको खाना अझ उनीहरूका मुखमा हुँदा नै
31 परमेश्‍वरको क्रोध उनीहरूमाथि खनियो, र उहाँले उनीहरूमध्ये सबैभन्दा हृष्‍टपुष्‍टहरूलाई मार्नुभयो, अनि इस्राएलका चुनिएकाहरूलाई ढालिदिनुभयो।
32 यति भएर पनि उनीहरूले अझ पाप गरे र उहाँका अचम्मका कामहरूमा विश्‍वास गरेनन्।
33 यसकारण उहाँले उनीहरूका दिनहरू व्यर्थतामा र उनीहरूका वर्षहरूचाहिँ कष्‍टमै नष्‍ट पारिदिनुभयो।
34 जब उहाँले उनीहरूलाई मार्नुभयो, तब उनीहरूले उहाँको खोजी गरे; अनि उनीहरू फर्के, र यत्‍नपूर्वक परमेश्‍वरको खोजी गरे।
35 अनि परमेश्‍वर हाम्रा चट्टान हुनुहुन्छ, र सर्वोच्‍च परमेश्‍वर हाम्रा उद्धारक हुनुहुन्छ भनी उनीहरूले सम्झना गरे।
36 तरै पनि उनीहरूले उहाँलाई आफ्नो मुखले चिप्लो घसे र आफ्ना जिब्राहरूले उहाँसित झूट बोले।
37 किनकि उनीहरूको हृदय उहाँप्रति ठीक थिएन, न ता उनीहरू उहाँको वाचाप्रति अडिग थिए।
38 तर उहाँले चाहिँ दयामायाले भरिएर उनीहरूको अधर्म क्षमा गर्नुभयो र उनीहरूलाई नष्‍ट गर्नुभएन; हो, धेरैपटक उहाँले आफ्नो रिस थाम्‍नुभयो र आफ्नो सबै क्रोध उठ्न दिनुभएन।
39 किनकि उनीहरू त मान्छे मात्र हुन् – बितेर जाने र फर्केर नआउने सास हुन् भनी उहाँले सम्झना गर्नुभयो।
40 उजाड़स्थानमा कति चोटि उनीहरूले उहाँलाई रिस उठाए; र मरुभूमिमा उहाँलाई शोकित तुल्याए।
41 हो, पछि हटेर उनीहरूले परमेश्‍वरलाई परीक्षा गरे र इस्राएलका पवित्र जनलाई सीमित तुल्याए।
42 उनीहरूले उहाँको हातको सम्झना गरेनन्, न ता उहाँले उनीहरूलाई शत्रुबाट छुटाउनुभएको दिनलाई सम्झना गरे।
43 कसरी उहाँले मिस्र देशमा आफ्ना चिन्हहरू र सोअनको मैदानमा आफ्ना अचम्मका कामहरू देखाउनुभएको थियो!
44 र तिनीहरूका नदीहरू उहाँले रगतमा परिवर्तन गर्नुभएको थियो, तिनीहरूका खोलाहरू पनि, र तिनीहरूले पानी पिउन सकेनन्।
45 उहाँले तिनीहरूको बीचमा डाँसका हूलहरू पठाउनुभयो, जसले तिनीहरूलाई खाइदिए; अनि भ्यागुताहरू, जसले तिनीहरूलाई नाश पारे।
46 अनि उहाँले तिनीहरूको उब्जनी झुसिल्कीरालाई र तिनीहरूको मेहनत सलहलाई दिनुभयो।
47 उहाँले तिनीहरूका दाखका बोटहरू असिनाले र तिनीहरूका नेभाराका रूखहरू तुसारोले नष्‍ट पार्नुभयो।
48 उहाँले तिनीहरूका गाईबस्तुहरू पनि असिनालाई र तिनीहरूका भेड़ाबाख्राका बगालचाहिँ बिजुलीका प्रहारहरूलाई दिनुभयो
49 तिनीहरूको बीचमा दुष्‍ट दूतहरू पठाईकन उहाँले तिनीहरूमाथि उहाँको रिसको प्रचण्डता, क्रोध र प्रकोप, अनि सङ्कष्‍ट खन्याउनुभयो।
50 उहाँले आफ्नो रिसका निम्ति बाटो बनाउनुभयो; उहाँले तिनीहरूको प्राणलाई मृत्युबाट जोगाउनुभएन, तर तिनीहरूको जीवन महामारीलाई सुम्पिदिनुभयो;
51 र मिस्र देशमा सबै जेठा-जेठालाई अर्थात् हामका वासस्थानहरूमा तिनीहरूको पौरुषको पहिलो फललाई मार्नुभयो।
52 तर आफ्ना जनहरूलाई चाहिँ उहाँले भेड़ाहरूलाई झैं निकालेर लैजानुभयो र उजाड़स्थानमा उनीहरूलाई भेड़ाबाख्राको बगाललाई झैं अगुवाइ गर्नुभयो।
53 अनि उनीहरू नडराऊन् भनी उहाँले उनीहरूलाई सुरक्षित डोर्‍याउनुभयो, तर उनीहरूका शत्रुहरूलाई चाहिँ समुद्रले पुरिदियो।
54 अनि उहाँले उनीहरूलाई आफ्नो पवित्रस्थानको सिमानामा अर्थात् यस पहाड़मा ल्याउनुभयो, जसलाई उहाँको दाहिने हातले किनेको थियो।
55 अनि उहाँले अन्यजातिहरूलाई पनि उनीहरूकै सामु लखेट्नुभयो, अनि डोरीले नापी-नापीकन उनीहरूलाई अधिकारको भाग बाँड़िदिनुभयो र इस्राएलका कुलहरूलाई तिनीहरूका तम्बूहरूमा बस्‍न लाउनुभयो।
56 तरै पनि उनीहरूले सर्वोच्‍च परमेश्‍वरलाई परीक्षा गरेर रिस उठाए, अनि उहाँका साक्षी वचनहरू पालन गरेनन्;
57 तर उनीहरूका पितापुर्खाहरूझैं पछि हटेर उनीहरूले विश्‍वासघात गरे; उनीहरू धोका दिने धनुझैं अर्कातिर लागे।
58 किनकि उनीहरूले आफ्ना डाँड़ाका थानहरूद्वारा उहाँलाई रिस उठाए र आफ्ना खोपिएका मूर्तिहरूद्वारा उहाँलाई डाहा गर्न लगाए।
59 जब परमेश्‍वरले यो सुन्‍नुभयो, तब उहाँ क्रोधित हुनुभयो र इस्राएललाई साह्रै घृणा गर्नुभयो।
60 यसकारण उहाँले शीलोको निवासस्थानलाई अर्थात् मानिसहरूको बीचमा खड़ा गर्नुभएको त्यस तम्बूलाई त्यागिदिनुभयो;
61 र आफ्नो सामर्थ्यलाई चाहिँ कैदमा र आफ्नो महिमालाई शत्रुको हातमा सुम्पिदिनुभयो।
62 अनि उहाँले आफ्ना जनहरूलाई तरवारको लागि सुम्पनुभयो, र आफ्नो अधिकारको भागसँग क्रोधित हुनुभयो।
63 आगोले उनीहरूका जवानहरूलाई भस्म पार्‍यो; अनि उनीहरूका कन्याहरूको विवाह गराइएन।
64 उनीहरूका पूजाहारीहरू तरवारले ढालिए; अनि उनीहरूका विधवाहरूले विलाप गरेनन्।
65 तब प्रभु निद्राबाट बिउँझनेझैं र मद्यको कारणले गर्जने शक्तिशाली मानिसझैं बिउँझनुभयो।
66 अनि उहाँले आफ्ना शत्रुहरूलाई भाग्‍ने तुल्याउनुभयो; उहाँले तिनीहरूलाई सदाको निन्दामा पार्नुभयो।
67 साथै उहाँले यूसुफको तम्बूलाई इन्कार गर्नुभयो र एप्रैमको कुललाई छान्‍नुभएन;
68 तर यहूदाको कुललाई छान्‍नुभयो अर्थात् सियोन पर्वतलाई, जसलाई उहाँले प्रेम गर्नुभयो।
69 अनि उहाँले आफ्नो पवित्रस्थान उच्‍च स्थानहरूझैं बनाउनुभयो, पृथ्वीझैं सुदृढ़, जसलाई उहाँले सदाका निम्ति बसाल्नुभएको छ।
70 उहाँले आफ्नो दास दाऊदलाई पनि चुन्‍नुभयो र भेड़ाका गोठहरूबाट उनलाई लिनुभयो;
71 आफ्नो प्रजा याकूब र आफ्नो अधिकारको भाग इस्राएललाई चराउन उहाँले उनलाई दूध खुवाउने भेड़ीहरूको पछि लाग्‍नबाट ल्याउनुभयो।
72 यसकारण उनले उनीहरूलाई आफ्नो हृदयको सच्‍चाइअनुसार चराउँथे र आफ्ना हातको निपुणताले उनीहरूलाई डोर्‍याउँथे।