प्रधान वादक यदूतूनका निम्ति; आसाफको भजन
77
आफ्नो स्वर उचालेर मैले परमेश्‍वरलाई पुकारें, अँ, आफ्नो स्वर उचालेर परमेश्‍वरलाई पुकारें; अनि उहाँले मतिर कान लगाउनुभयो।
2 मेरो सङ्कष्‍टको दिनमा मैले प्रभुलाई खोजें; रातभरि मेरो हात फैलिरह्‍यो, र थाकेन; मेरो प्राणले शान्त हुन मानेन।
3 मैले परमेश्‍वरलाई सम्झना गरें, र बेचैन बनें; मैले दुःख पोखें, र मेरो आत्मा व्याकुल भयो। सेला#
4 तपाईंले मेरा आँखा जागै राख्‍नुहुन्छ; म यति बेचैन भएँ, कि म बोल्नै सक्दिनँ।
5 मैले बितेका दिनहरू र प्राचीनकालका वर्षहरूको विषयमा सोचेको छु।
6 राति म आफ्नो गीत सम्झन्छु; आफ्नो हृदयसँग म कुरा गर्दछु, र मेरो आत्माले यत्‍नसित खोजतलाश गर्दछ।
7 के प्रभुले सधैंका निम्ति त्याग्‍नुहुनेछ? अनि के उहाँले फेरि कहिल्यै कृपा देखाउनुहुनेछैन?
8 के उहाँको करुणा सधैंका निम्ति गइहाल्यो? के उहाँको प्रतिज्ञा पुस्ता-पुस्तासम्म विफल हुन्छ?
9 के परमेश्‍वरले अनुग्रही हुन बिर्सनुभएको छ? के उहाँले रिसमा आफ्नो कोमल कृपाहरू बन्द गर्नुभएको छ? सेला#
10 अनि मैले भनें: “यो मेरो कमजोरी हो; तर म परमप्रधानको दाहिने हातका वर्षहरू सम्झना गर्नेछु –
11 म याहका कामहरू सम्झना गर्नेछु; निश्‍चय नै म तपाईंका प्राचीनकालका अचम्मका कामहरू सम्झना गर्नेछु;
12 र म तपाईंका सबै कामहरूको विषयमा ध्यान गर्नेछु र तपाईंका कार्यहरूको विषयमा बोल्नेछु।”
13 हे परमेश्‍वर, तपाईंको मार्ग पवित्रस्थानमा छ; हाम्रा परमेश्‍वरजस्तो महान् ईश्‍वर अरू को छ र?
14 तपाईं अचम्मका कामहरू गर्नुहुने परमेश्‍वर हुनुहुन्छ; जाति-जातिका मानिसहरूको बीचमा तपाईंले आफ्नो सामर्थ्यको घोषणा गर्नुभएको छ।
15 तपाईंले आफ्नै पाखुराले आफ्ना जनहरूलाई, अर्थात् याकूब र यूसुफका सन्तानलाई दाम तिरेर छुटाउनुभएको छ। सेला#
16 समुद्रले तपाईंलाई देख्यो, हे परमेश्‍वर, समुद्रले तपाईंलाई देख्यो, र त्यो डरायो; गहिरा सागरहरू लगलग कामे।
17 बादलहरूले पानी खन्याए, आकाशले आवाज सुनायो; तपाईंका काँड़हरू पनि चारैतिर चले।
18 तपाईंको गर्जनको आवाज आकाशमा थियो; बिजुलीहरूले संसारलाई उज्यालो पारे; पृथ्वी काम्यो र हल्‍लियो।
19 तपाईंको मार्ग समुद्रमा छ, र तपाईंको बाटो महासागरमा छ; अनि तपाईंका पाइलाका छापहरू थाहा पाइँदैनन्।
20 मोशा र हारूनका हातद्वारा तपाईंले आफ्ना जनहरूलाई भेड़ाको बगाललाई जस्तै अगुवाइ गर्नुभयो।