प्रधान वादकका लागि; ‘अल् तश्हेत’-रागमा; आसाफको एउटा भजन अथवा गीत
75
हे परमेश्‍वर, तपाईंलाई हामी धन्यवाद चढ़ाउँछौं, हामी धन्यवाद चढ़ाउँछौं; किनकि तपाईंको नाम नजिकै छ भनी तपाईंका अचम्मका कामहरूले बयान गर्छन्।
2 जब म समय ठहराउनेछु, तब म निष्पक्षतासाथ न्याय गर्नेछु।
3 पृथ्वी र त्यसका सबै वासिन्दाहरू पग्लन्छन्; त्यसका खाँबाहरू म थामिराख्छु। सेला#
4 मैले अहङ्कारीहरूलाई भनें: “अहङ्कार नगर!”; र दुष्‍टहरूलाई भनें: “सिङ ठाड़ो नपार!”
5 आफ्नो सिङ ठाड़ो नपार, गर्दन कड़ा पारेर नबोल!
6 किनकि पदोन्‍नति न पूर्वबाट, न पश्‍चिमबाट, न दक्षिणबाट नै आउँछ।
7 तर परमेश्‍वर नै न्यायकर्ता हुनुहुन्छ; उहाँले एकजनालाई होच्याउनुहुन्छ र अर्कोलाई उच्‍च पार्नुहुन्छ।
8 किनकि परमप्रभुको हातमा कचौरा छ, अनि दाखमद्य रातो छ; त्यसमा खूब मसला मिसाइएको छ; अनि त्यसैबाट उहाँले खन्याउनुहुन्छ; तर त्यसका थेग्राहरू पृथ्वीका सबै दुष्‍टहरूले निचोरेर पिउनेछन्।
9 तर म त सदा-सर्वदा घोषणा गर्नेछु; म याकूबका परमेश्‍वरको स्तुति गाउनेछु।
10 अनि म दुष्‍टहरूका सबै सिङहरू काटिदिनेछु; तर धर्मी जनका सिङहरू उच्‍च पारिनेछन्।