आसाफको मस्किल
74
हे परमेश्‍वर, तपाईंले हामीलाई किन सदाका निम्ति त्याग्‍नुभयो? तपाईंको खर्कका भेड़ाहरूको विरोधमा तपाईंको रिसको धूवाँ किन उठ्छ?
2 तपाईंको समुदायको सम्झना गर्नुहोस्, जसलाई तपाईंले प्राचीनकालमा किन्‍नुभयो; तपाईंको निज सम्पत्तिको डण्‍डा, जसलाई तपाईंले दाम तिरेर छुटाउनुभयो; यस सियोन पर्वतलाई, जहाँ तपाईंले वास गर्नुभएको छ।
3 सनातन भग्‍नावशेषहरूतिर आफ्नो पाउ उचाल्नुहोस्; अर्थात् यी सबै खराबीतिर जो शत्रुले पवित्रस्थानभित्र गरेको छ।
4 तपाईंका सभास्थानहरूकै बीचमा तपाईंका शत्रुहरू गर्जन्छन्; तिनीहरूले चिन्हको रूपमा आफ्ना झण्डाहरू खड़ा गरेका छन्।
5 मान्छेले बाक्ला रूखहरूमाथि जसरी बन्चराहरू चलाउँथ्यो, त्यहीअनुसार ऊ प्रसिद्ध हुन्थ्यो।
6 तर अब तिनीहरूले त्यसका बेलबुट्टाका कामहरू आफ्ना बन्चरा र घनहरूले तोड़्दछन्।
7 तिनीहरूले तपाईंको पवित्रस्थानमा आगो लगाएका छन्; तिनीहरूले तपाईंको नामको वासस्थान भुइँमा पछारेर अशुद्ध पारेका छन्।
8 तिनीहरूले आफ्ना हृदयमा यसो भने: “आओ, हामी तिनीहरूलाई पूरै नाश पारौं!” तिनीहरूले यस देशमा परमेश्‍वरका सबै सभास्थानहरू जलाइदिएका छन्।
9 हामी हाम्रा झण्डाहरू देख्दैनौं; कुनै भविष्यवक्ता छैन, न ता हाम्रो बीचमा कोही छ, जसले यो कहिलेसम्म हुन्छ, सो जान्दछ।
10 हे परमेश्‍वर, कहिलेसम्म विरोधीहरूले अपमान गर्लान्? के शत्रुले सदा-सर्वदा तपाईंको नामको निन्दा गरिरहोस्?
11 तपाईंले किन आफ्नो हात, अँ, तपाईंको दाहिने हात थामिराख्‍नुहुन्छ? त्यसलाई आफ्नो छातीबाट निकाल्नुहोस्!
12 किनकि प्राचीनकालदेखि नै परमेश्‍वर मेरा राजा हुनुहुन्छ, जसले पृथ्वीको मध्यमा उद्धारका कामहरू गर्दै आउनुभएको छ।
13 तपाईंले आफ्नो सामर्थ्यले समुद्रलाई दुई भाग गर्नुभयो; तपाईंले अजिङ्गरहरूका टाउकाहरू समुद्रमा फुटाउनुभयो।
14 तपाईंले लिव्यातानका टाउकाहरू टुक्रा-टुक्रा पार्नुभयो; तपाईंले त्यसलाई उजाड़स्थानमा बस्‍ने जातिका निम्ति भोजन तुल्याउनुभयो।
15 तपाईंले मूल फुटाएर बाढ़ चलाउनुभयो; तपाईंले सामर्थी नदीहरू सुकाउनुभयो।
16 दिन तपाईंको हो, रात पनि तपाईंकै हो; तपाईंले ज्योति र सूर्य तयार पार्नुभयो।
17 तपाईंले पृथ्वीका सबै सिमानाहरू ठहराउनुभएको छ; तपाईंले गरम समय र जाँड़ो समय बनाउनुभएको छ।
18 शत्रुले अपमान गरेको छ, र मूर्ख मानिसहरूले तपाईंको नामको निन्दा गरेका छन्; हे परमप्रभु यो कुरा सम्झिदिनुहोस्!
19 तपाईंको ढुकुरको प्राण जङ्गली पशुहरूकहाँ नसुम्पनुहोस्; तपाईंका दु:खीहरूको समूहलाई कहिल्यै नबिर्सनुहोस्!
20 वाचामा ध्यान दिनुहोस्; किनकि पृथ्वीका अँध्यारा ठाउँहरू निष्‍ठुरताका अड्डाहरूले भरिएका छन्।
21 थिचोमिचोमा परेकाहरूलाई शर्ममा परेर फर्कन नदिनुहोस्; दुःखी र खाँचोमा परेकोले तपाईंको नामको प्रशंसा गरून्।
22 हे परमेश्‍वर, उठ्नुहोस्, आफ्नो मुद्दा आफै लड़्नुहोस्; मूर्ख मानिसहरूले कसरी तपाईंलाई दिनहुँ अपमान गर्दछन्, सो सम्झनुहोस्!
23 तपाईंका शत्रुहरूको आवाज नबिर्सनुहोस्; तपाईंको विरोधमा उठ्नेहरूको खैलाबैला निरन्‍तर बढ़िरहन्छ।