तेस्रो भाग: भजन ७३-८९
आसाफको भजन
73
साँच्चै इस्राएलका निम्ति परमेश्वर भला हुनुहुन्छ; उनीहरूका निम्ति, जसको हृदय शुद्ध छ।2 तर मेरो विषयमा चाहिँ, मेरा पाउहरूले बाटो बिराउनै लागेका थिए, मेरा पाइलाहरू चिप्लनै आँटेका थिए;
3 किनकि दुष्टहरूको उन्नति देख्दा मैले घमण्डीहरूलाई डाहा गरें।
4 किनकि तिनीहरूको मृत्युमा पीड़ा छैन, तर तिनीहरूको बल अटुट रहिरहन्छ।
5 अरू मानिसहरूझैं तिनीहरू कष्टमा हुँदैनन्, न ता अरू मानिसहरूमाथि झैं तिनीहरूमाथि विपत्ति आइपर्छ।
6 यसैकारण अहङ्कार तिनीहरूमा गलाको सिक्रीझैं बाँधिन्छ; वस्त्रले ढाकेझैं तिनीहरूलाई अत्याचारले ढाक्छ।
7 तिनीहरूका आँखा बोसो लागेकोले बाहिर निस्कन्छन्; तिनीहरूसँग हृदयले चिताएकोभन्दा बढ़ी छ।
8 तिनीहरू खिसी गर्छन् र दुष्टतापूर्वक थिचोमिचोको कुरा गर्छन्; तिनीहरू घमण्डसाथ बोल्छन्।
9 तिनीहरू आफ्ना मुख स्वर्गको विरोधमा खोल्छन्, र तिनीहरूको जिब्रोचाहिँ पृथ्वीमा घुम्छ।
10 यसकारण उहाँका जनहरू यहाँ फर्केर आउँछन्; अनि कचौराभरिको पानी तिनीहरूका निम्ति निचोरिन्छ।
11 अनि तिनीहरू भन्छन्: “परमेश्वरले कसरी जान्नुहुन्छ र? अनि के परमप्रधानमा ज्ञान छ र?”
12 हेर, यिनीहरूचाहिँ भक्तिहीनहरू हुन्, जसले यस युगमाक उन्नति गर्छन्; तिनीहरू धनसम्पत्ति बढ़ाउँछन्।
13 साँच्चै मैले व्यर्थमा आफ्नो हृदय शुद्ध पारेछु, र आफ्ना हात निर्दोषतामा धोएछु।
14 किनकि दिनभरि नै म कष्टमा परेको थिएँ, अनि हर बिहान मेरो ताड़ना हुन्थ्यो।
15 “म यसरी बोल्नेछु” भनी मैले भनेको भए हेर्नुहोस्, तपाईंका सन्तानको पुस्तालाई म ठेस खुवाएको हुनेथिए।
16 जब मैले यो कुरा जान्ने विचार गरें, तब योचाहिँ मेरा निम्ति तबसम्म साह्रै कष्टपूर्ण भयो,
17 जबसम्म म परमेश्वरको पवित्रस्थानभित्र गइनँ; तब मैले तिनीहरूको अन्त बुझें –
18 साँच्चै तपाईंले तिनीहरूलाई चिप्ला ठाउँहरूमा राख्नुभएको रहेछ; तपाईंले तिनीहरूलाई विनाशभित्र फाल्नुभएको रहेछ।
19 तिनीहरू कसरी क्षणभरमै झैं उजाड़ भए! आतङ्कहरूद्वारा तिनीहरू पूर्ण रूपले नाश भए।
20 बिउँझेपछि सपनालाई झैं हे प्रभु, तपाईं जाग्नुभएपछि तपाईंले तिनीहरूको रूप तुच्छ ठान्नुहुनेछ।
21 यसरी मेरो हृदय दुःखित भएको थियो, र मेरो अन्तस्करणमा म च्वास्स घोंचिएको थिएँ।
22 म कति मूर्ख र अनजान थिएँ; म तपाईंको सामु पशुसरह थिएँ।
23 तैपनि म निरन्तर तपाईंसँग छु; तपाईंले मेरो दाहिने हात समात्नुभएको छ।
24 तपाईंले आफ्नो सल्लाहले मलाई अगुवाइ गर्नुहुनेछ, र पछि मलाई महिमामा ग्रहण गर्नुहुनेछ।
25 स्वर्गमा तपाईंबाहेक मेरो अरू को छ र? अनि पृथ्वीमा पनि तपाईंबाहेक म अरू कोही चाहँदिनँ।
26 मेरो शरीर र मेरो हृदय हार्छन्, तर परमेश्वर सदा कालका निम्ति मेरो हृदयको बल र मेरो भाग हुनुहुन्छ।
27 किनकि हेर्नुहोस्, तपाईंदेखि टाढ़ामा हुनेहरू नष्ट हुनेछन्; व्यभिचार गर्दै तपाईंदेखि टाढ़ामा जानेहरू सबैलाई तपाईंले नष्ट गर्नुभएको छ।
28 तर परमेश्वरको नजिक जानु नै मेरा निम्ति असल हो; तपाईंका सबै कामहरूको घोषणा गरूँ भनी मैले प्रभु यहोवामाथि आफ्नो भरोसा राखेको छु।