सुलेमानको भजन
72
हे परमेश्वर, राजालाई तपाईंका न्यायहरूक र राजाका छोरालाई तपाईंको धार्मिकता दिनुहोस्!2 उनले धार्मिकतापूर्वक तपाईंका जनहरूको र न्यायपूर्वक तपाईंका गरिबहरूको न्याय गर्नेछन्।
3 पहाड़हरू र डाँड़ाहरूले धार्मिकताद्वारा तपाईंका जनहरूकहाँ शान्ति ल्याउनेछन्।
4 उनले प्रजाका गरिबहरूको न्याय गर्नेछन्, खाँचोमा परेकाहरूकाख सन्तानलाई बचाउनेछन्, र अत्याचारीलाई टुक्रा-टुक्रा पार्नेछन्।
5 जबसम्म घाम र जून रहलान्, तिनीहरूले पुस्ता-पुस्तासम्म तपाईंको डर मान्नेछन्।
6 काटेको घाँसमाथि वर्षाझैं, पृथ्वीलाई भिजाउने झरीहरूझैं उनी ओर्लेर आउनेछन्।
7 उनका दिनहरूमा धर्मी जन मौलाउनेछ, जून रहुन्जेल शान्तिको भरपूरी हुनेछ।
8 अनि उनले समुद्रदेखि समुद्रसम्म र नदीदेखि पृथ्वीका छेउ-छेउसम्म राज्य गर्नेछन्।
9 उजाड़स्थानमा बस्नेहरू उनको सामु घोप्टो पर्नेछन्, र उनका शत्रुहरूले धूलो चाट्नेछन्।
10 टर्शिश र टापुहरूका राजाहरूले उपहार ल्याउनेछन्; शेबा र सेबाका राजाहरूले भेटीहरू चढ़ाउनेछन्।
11 हो, सबै राजाहरूले उनलाई दण्डवत् गर्नेछन्; सबै जातिहरूले उनको सेवा गर्नेछन्।
12 किनकि उनले खाँचोमा परेकोलाई उसले पुकार्दा छुटाउनेछन्, गरिब र असहायलाई पनि छुटाउनेछन्।
13 उनले गरिब र खाँचोमा परेकोलाई टिठाउनेछन् र खाँचोमा परेकाहरूका प्राणहरू बचाउनेछन्।
14 उनले तिनीहरूको प्राणलाई थिचोमिचो र अत्याचारबाट छुटाउनेछन्ग; र उनको दृष्टिमा तिनीहरूको रगत बहुमूल्य हुनेछ।
15 अनि उनी जीवित रहनेछन्, र उनलाई शेबाको सुन दिइनेछ; अनि उनका निम्ति निरन्तर प्रार्थना चढ़ाइनेछ, अनि दिनहुँ उनको प्रशंसा गरिनेछ।
16 पृथ्वीमा, पहाड़हरूको टाकुरामा प्रशस्त गरी अन्न हुनेछ, त्यसको फल लेबानोनझैं हल्लिनेछ; अनि शहरकाहरूचाहिँ पृथ्वीको घाँसझैं मौलाउनेछन्।
17 उनको नाम सदा-सर्वदा रहिरहनेछ; सूर्य रहुन्जेल उनको नाम रहिरहनेछ; अनि उनमा मानिसहरू आशिषित हुनेछन्; सबै जातिहरूले उनलाई धन्यको भन्नेछन्।
18 परमप्रभु परमेश्वर, इस्राएलका परमेश्वर धन्यका होऊन्; उहाँले मात्र अचम्मका कामहरू गर्नुहुन्छ;
19 अनि उहाँको महिमापूर्ण नाम सदा-सर्वदा धन्यको होस्; अनि सम्पूर्ण पृथ्वी उहाँको महिमाले भरियोस्; आमेन, र आमेन!
20 यिशाइका पुत्र दाऊदका प्रार्थनाहरू समाप्त भए।