71
हे परमप्रभु, म तपाईंमाथि भरोसा राख्छु; मलाई कहिल्यै शर्ममा पर्न नदिनुहोस्!
2 तपाईंको धार्मिकतामा मलाई छुटकारा दिनुहोस् र मलाई उम्काउनुहोस्; आफ्नो कान मतिर लगाउनुहोस् र मलाई बचाउनुहोस्!
3 मेरो बलियो वासस्थान बन्‍नुहोस्, जहाँ म निरन्‍तर आश्रय लिन सकूँ; तपाईंले मलाई बचाउने आज्ञा दिनुभएको छ; किनकि तपाईं मेरा चट्टान र गढ़ हुनुहुन्छ।
4 हे मेरा परमेश्‍वर, दुष्‍टको हातबाट, अधर्मी र निर्दयी मानिसको पन्जाबाट मलाई छुटाउनुहोस्!
5 किनभने हे प्रभु यहोवा, तपाईं मेरो आशा हुनुहुन्छ, मेरो बालककालदेखि नै तपाईं मेरो भरोसा हुनुहुन्छ।
6 गर्भदेखि नै म तपाईंद्वारा सम्हालिएको छु; मेरी आमाको पेटबाट निकाल्ने तपाईं नै हुनुहुन्छ; मेरो स्तुति निरन्‍तर तपाईंकै भइरहनेछ।
7 धेरैजनाका निम्ति म चमत्कारजस्‍तो छु; तर तपाईं मेरो बलियो शरणस्थान हुनुहुन्छ।
8 मेरो मुख दिनभरि तपाईंकै स्तुति र तपाईंकै आदरले भरिएको होस्।
9 बूढ़ेसकालमा मलाई नफाल्नुहोस्; मेरो बल घटेको बेलामा मलाई नत्याग्‍नुहोस्!
10 किनकि मेरा शत्रुहरू मेरो विरोधमा बोल्छन्; अनि मेरो प्राण लिनलाई ढुकेर बस्‍नेहरू आपसमा यसो भन्दै सल्‍लाह गर्छन्:
11 “परमेश्‍वरले त्यसलाई त्याग्‍नुभएको छ; त्यसलाई सताओ र पक्र; किनकि त्यसलाई छुटाउने कोही छैन।”
12 हे परमेश्‍वर, मदेखि टाढ़ा नहुनुहोस्; हे मेरा परमेश्‍वर, मेरा सहायताका निम्ति हतार गर्नुहोस्!
13 तिनीहरू शर्ममा परून्, मेरो प्राणका विरोधीहरू नाश होऊन्; मेरो हानि गर्न खोज्‍नेहरू निन्दा र अपमानले पुरिऊन्।
14 तर म त निरन्‍तर आशा गर्नेछु, र झन्-झन् बढ़्‍ता गरी तपाईंको प्रशंसा गर्नेछु।
15 दिनभरि मेरो मुखले तपाईंको धार्मिकता र तपाईंको उद्धारको बयान गर्नेछ; किनकि तिनका संख्या मलाई थाहा छैन।
16 प्रभु यहोवाको बलमा म जानेछु; म तपाईंको, अँ, केवल तपाईंको धार्मिकताको बयान गर्नेछु।
17 हे परमेश्‍वर, मेरो बालककालदेखि नै तपाईंले मलाई सिकाउनुभएको छ; अनि अहिलेसम्म नै मैले तपाईंका अचम्मका कामहरूको घोषणा गरेको छु।
18 अनि अहिले म बूढ़ो भएको र केश फुलिसकेको बेलामा पनि, हे परमेश्‍वर, मलाई नत्याग्‍नुहोस् – जबसम्म म यस पुस्तालाई तपाईंको बाहुबलको र पछि आउने सबैलाई तपाईंको सामर्थ्यको घोषणा गर्दिनँ।
19 अनि हे परमेश्‍वर, तपाईंको धार्मिकता अति उच्‍च छ; तपाईंले महान् कामहरू गर्नुभएको छ; हे परमेश्‍वर, तपाईंजस्तो अरू को छ र?
20 तपाईं जसले मलाई ठूला र तीता कष्‍टहरू देखाउनुभएको छ, मलाई पुनर्जीवित पार्नुहुनेछ, र पृथ्वीका गहिराइहरूदेखि मलाई फेरि माथि ल्याउनुहुनेछ।
21 तपाईंले मेरो महान्‌ता बढ़ाउनुहुनेछ र चारैतिरबाट मलाई सान्‍त्‍वनाले घेर्नुहुनेछ।
22 हे मेरा परमेश्‍वर, म पनि सितार-बाजा बजाएर तपाईंको प्रशंसा, तपाईंको सत्यताको प्रशंसा गर्नेछु; हे इस्राएलका पवित्र जन, वीणा बजाएर म तपाईंको स्तुति गाउनेछु।
23 जब म तपाईंको स्तुति गाउँछु, तब मेरा ओठहरू र मेरो प्राण, जसलाई तपाईंले छुटकारा गर्नुभएको छ, औधि नै रमाउनेछन्।
24 दिनभरि नै मेरो जिब्रोले पनि तपाईंको धार्मिकताको बयान गर्नेछ; किनकि तिनीहरू लज्जित भएका छन्; किनकि मेरो हानि खोज्‍नेहरू शर्ममा परेका छन्।