प्रधान वादकका लागि; ‘नेगिनोथ’मा; एक भजन अर्थात् गीत
67
परमेश्‍वर हामीप्रति कृपालु होऊन्, र हामीलाई आशिष्‌ दिऊन्; अनि हामीमाथि आफ्नो चेहरा चम्काऊन्! सेला#
2 र पृथ्वीमाथि तपाईंको मार्ग र सबै जातिहरूको बीचमा तपाईंको उद्धार थाहा होस्।
3 हे परमेश्‍वर, जाति-जातिका मानिसहरूले तपाईंको प्रशंसा गरून्; जाति-जातिका सबै मानिसहरूले तपाईंको प्रशंसा गरून्।
4 राज्य-राज्यका मानिसहरू आनन्दित होऊन्, र हर्षले गीत गाऊन्; किनकि तपाईंले धार्मिकतापूर्वक मानिसहरूको न्याय गर्नुहुनेछ, र पृथ्वीमा राज्य-राज्यमाथि शासन गर्नुहुनेछ। सेला#
5 हे परमेश्‍वर, जाति-जातिका मानिसहरूले तपाईंको प्रशंसा गरून्; जाति-जातिका सबै मानिसहरूले तपाईंको प्रशंसा गरून्।
6 तब पृथ्वीले आफ्नो उब्जनी दिनेछ; अनि परमेश्‍वरले, हाम्रै परमेश्‍वरले हामीलाई आशिष्‌ दिनुहुनेछ।
7 परमेश्‍वरले हामीलाई आशिष्‌ दिनुहुनेछ; अनि पृथ्वीका छेउ-छेउसम्मका सबै मानिसहरूले उहाँकै डर मान्‍नेछन्।