प्रधान वादकका लागि; एक गीत अर्थात् भजन
66
हे सारा पृथ्वी, परमेश्‍वरका निम्ति आनन्दको सोर निकाल;
2 उहाँको नामको महिमा गाओ; उहाँको प्रशंसा महिमित तुल्याओ!
3 परमेश्‍वरलाई भन: “तपाईं आफ्ना कामहरूमा कति भययोग्य हुनुहुन्छ! तपाईंको सामर्थ्यको महान्‌ताले गर्दा तपाईंका शत्रुहरूले आफूलाई तपाईंको अधीनतामा सुम्पन्छन्।”
4 सारा पृथ्वीले तपाईंलाई दण्‍डवत्‌ गर्नेछ, र तपाईंका निम्ति भजन गाउनेछ; तिनीहरूले तपाईंको नामको स्तुति गाउनेछन्। सेला#
5 आओ, र परमेश्‍वरका कामहरू हेर; मानिसका सन्तानप्रति उहाँ आफ्नो कार्यमा कति भययोग्य हुनुहुन्छ!
6 उहाँले समुद्रलाई सुक्खा जमिन बनाउनुभयो; उनीहरूले पैदलै नदी पार गरे; त्यहाँ हामी उहाँमा रमायौं।
7 सदा-सर्वदा उहाँ आफ्नो सामर्थ्यमा शासन गर्नुहुन्छ; उहाँका आँखाले जाति-जातिका मानिसहरूलाई हेर्छन्; विद्रोहीहरूले आफ्नो शिर नउठाऊन्! सेला#
8 हे जाति-जातिका मानिसहरूहो, हाम्रा परमेश्‍वरलाई धन्यको भन, र उहाँको प्रशंसाको ध्वनि सुनाओ!
9 उहाँले हाम्रो प्राण जीवनमा सम्हाल्नुहुन्छ र हाम्रा पाउहरू चिप्लन दिनुहुन्‍न।
10 किनकि हे परमेश्‍वर, तपाईंले हामीलाई जाँचेर हेर्नुभएको छ; जसरी चाँदी खारिन्छ, त्यसरी नै तपाईंले हामीलाई खार्नुभएको छ।
11 तपाईंले हामीलाई जालमा हाल्नुभयो; तपाईंले हाम्रो कम्मरमा कष्‍ट हाल्नुभयो।
12 तपाईंले मानिसहरूलाई हाम्रा टाउकामाथि सवार गर्न लाउनुभयो; हामी आगो र पानीबाट भएर गयौं; तर तपाईंले हामीलाई निकालेर भरपूरीको ठाउँमा ल्याइपुऱ्याउनुभयो।
13 होमबलिहरू लिएर म तपाईंको भवनमा जानेछु; तपाईंका निम्ति म आफ्ना भाकलहरू पूरा गर्नेछु,
14 जुन कुरा मेरा ओठहरूले म सङ्कष्‍टमा परेको बेला बोलेका थिए र मेरो मुखले भनेको थियो।
15 भेड़ाहरूरूपी धूपको साथ म तपाईंलाई मोटा-मोटा पशुहरूका होमबलिहरू चढ़ाउनेछु; बोकाहरूसित म बहरहरू चढ़ाउनेछु। सेला#
16 हे सबै परमेश्‍वरको डर मान्‍नेहरूहो, आओ र सुन; र उहाँले मेरो प्राणको लागि के-के गर्नुभएको छ, सो म बताउनेछु।
17 मैले उहाँलाई आफ्नो मुखले पुकारें, र मेरो जिब्राले उहाँको बढ़ाइ भयो।
18 यदि मैले आफ्नो हृदयमा अधर्म राखें भने प्रभुले मेरो विन्‍ती सुन्‍नुहुनेछैन।
19 तर साँच्‍चै परमेश्‍वरले मेरो विन्‍ती सुन्‍नुभएको छ; उहाँले मेरो प्रार्थनाको सोरतिर ध्यान दिनुभएको छ।
20 परमेश्‍वर धन्यका होऊन्, जसले मेरो प्रार्थनालाई इन्कार गर्नुभएको छैन, न ता आफ्नो करुणा मदेखि हटाउनुभएको छ।