प्रधान वादकका लागि; दाऊदको भजन र गीत
65
सियोनमा हे परमेश्‍वर, प्रशंसा तपाईंको प्रतीक्षामा छ; तपाईंका निम्ति भाकल पूरा गरिनेछ।
2 हे प्रार्थना सुन्‍नुहुने, तपाईंकहाँ नै सबै प्राणी आउनेछन्।
3 अधर्महरू ममाथि विजयी भएका छन्; हाम्रा अपराधहरूचाहिँ – तपाईंले तिनलाई शुद्ध पार्नुहुनेछ।
4 धन्य हो त्यो मानिस, जसलाई तपाईंले चुन्‍नुहुन्छ, र तपाईंकै चोकहरूमा वास गरोस् भनी आफ्नो नजिकै ल्याउनुहुन्छ; तपाईंको भवनको अर्थात् तपाईंको पवित्र मन्दिरको उत्तमताले हामी तृप्‍त हुनेछौं।
5 हे हाम्रा उद्धारका परमेश्‍वर, तपाईंले हामीलाई डरलाग्दा कुराहरूद्वारा धार्मिकतामा जवाफ दिनुहुनेछ; हे पृथ्वीका छेउ-छेउसम्मका सबै मानिसहरू र समुद्रमा टाढ़ा-टाढ़ा बस्‍नेहरूको भरोसा तपाईं नै हुनुहुन्छ;
6 तपाईंले सामर्थ्यले कम्मर कसेर आफ्नो शक्तिले पहाड़हरू स्थिर पार्नुहुन्छ।
7 तपाईंले समुद्रहरूको गर्जन, तिनका छालहरूको गर्जन र जाति-जातिका मानिसहरूको कोलाहल शान्त पार्नुहुन्छ।
8 पृथ्वीका छेउ-छेउमा बस्‍नेहरू पनि तपाईंका चिन्हहरूसँग डराएका छन्; तपाईंले सूर्योदय र सूर्यास्तलाई रमाउने तुल्याउनुहुन्छ।
9 तपाईंले पृथ्वीको सुधि लिनुहुन्छ र त्यसलाई सिँच्‍नुहुन्छ; तपाईंले पानीले भरपूर भएको परमेश्‍वरको नदीद्वारा त्यसलाई अति फलवन्‍त तुल्याउनुहुन्छ; यसरी त्यसलाई तयार पार्नुभएपछि तपाईंले तिनीहरूका निम्ति अन्‍नको प्रबन्ध गर्नुहुन्छ।
10 तपाईंले त्यसका गराहरू प्रशस्त गरी भिजाउनुहुन्छ; तपाईंले त्यसका सियाहरू सम्याउनुहुन्छ; झरी बर्साएर तपाईंले त्यसलाई नरम पार्नुहुन्छ; तपाईंले त्यसको उब्जनीमा आशिष्‌ दिनुहुन्छ।
11 तपाईंले वर्षलाई आफ्नो भलाइको मुकुट पहिर्‍याउनुहुन्छ; अनि तपाईंका मार्गहरू उत्तम पदार्थले चुहुन्छन्।
12 ती उजाड़स्थानका खर्कहरूमाथि चुहुन्छन्; अनि डाँड़ाहरू चारैतिर आनन्द मनाउँछन्।
13 खर्कहरू भेड़ाबाख्राहरूले डम्मै ढाकिएका छन्; बेंसीहरू पनि अन्‍नले ढाकिएका छन्; तिनीहरू हर्षले चिच्च्याउँछन्, गीत पनि गाउँछन्।